काठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण परीक्षण, रोकथाम तथा उपचारका चिनियाँ स्वास्थ्य सामग्रीको गुणस्तरमा शंका गरिएपछि नेपाल आउनै लागेको सामग्री तिब्बतमा रोकिएको छ ।
गत बुधवार चीनको ह्वा खथाईको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाइरस परीक्षण गर्न मिल्ने किट नेपाली दूतावासलाई उपलब्ध गराएर नेपालका लागि पठाएको थियो ।
नेपाल आउन तिब्बतको ल्हासा पुगिसकेको बेला किटलाई तिब्बत सरकारले रोकेको छ । चीनको नेसनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले तोकेका किट अन्तर्गत नेपाल आउन लागेको किट नपर्ने भएकाले तिब्बत सरकारले बाटोमै रोकेको छ । स्रोतका अनुसार चीनमै मान्यताप्राप्त नभएको किट नेपाल आउन लागेको थियो ।
चीनले उत्पादन गरेको किटबाट कोरोना परीक्षण गर्दा ३० प्रतिशत बिरामीको मात्रै पहिचान गर्न सकेको, रोग लागेपनि ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता नलगोको र गुणस्तरहीन भएको भन्दै स्पेनले चिनियाँ कम्पनीबाट आपूर्ति भएका सामग्री फिर्ता गर्ने निर्णय गरेको थियो ।
‘तिब्बत सरकारको स्वास्थ्य विभागले नेपालका लागि पठाइएका किट निर्यातयोग्य नभएको पुष्टि गरेको छ,’ स्रोतले भन्यो । किट निर्यातयोग्य नभएको जानकारी परराष्ट्र मन्त्रालयमार्फत् प्राप्त भएको महावाणिज्य दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले जनाएका छन् ।
चीन सरकारले नेपाललाई अनुदानमा दिन लागेको स्वास्थ्य सुरक्षा सामग्रीको सूचीमा अहिले पठाउन लागिएको किट उल्लेख नभएकाले पनि तिब्बत सरकारले रोक्का गरेको जानकारी मिलेको प्रवक्ता राईले बताए । चीनबाट आउने मेडिकल सामग्री, परीक्षण उपकरण आदि गुणस्तरीय नभएको भन्दै स्पेन, चेक गणतन्त्रजस्ता मुलुकमा चिनियाँ सामग्री बहिष्कार गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।