काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणसँग लड्न सक्रिय भएको छ ।
संसारभर टाउको दुखाइको विषय बनेको कोरोनालाई नेपाल भित्रिन नै नदिएर परास्त गर्नुपर्ने तरुण दलको सुझाव छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आईतबार ९ बुँदे सन्देश जारी गर्दै कोरोना भाइरसविरुद्धको लडाइमा एकजुट हुन आह्वान गरेका छन् ।
कोरोना भाइरसलाई भित्रिन नदिन स्वदेश तथा विदेशमा रहेका सबै नेपाली सचेत र सजग हुनुपर्ने अध्यक्ष बस्नेतले जनाएका छन् ।
हेर्नुस् तरुण दलको सन्देश :
छिमेकी मुलुक चीनबाट सुरू भएर विश्वका विभिन्न मुलुकमा महामारीका रुपमा फैलिरहेको नोभल कोरोना भाइरसबाट विश्व समुदाय आक्रान्त छ । यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले नेपाल पनि यसको उच्च जोखिम रहेको सूचना जारी गरिसकेको छ, त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफू सजग हुँदै अरुलाई पनि सही सूचना सम्प्रेषण गर्नु तपाईं–हामी सम्पूर्णको जिम्मेवारी हो । यस्तो गम्भीर परिस्थितिमा सतर्कता अपनाउनु साथै सन्त्रास न्युनीकरणका लागि नेपाल तरुण दल नेपाल सरकार, सम्बन्धित निकाय, सञ्चारमाध्यम, देश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछ ।
१) एकअर्कासँग भेट हुँदा, हार्दिकता साटासाट गर्दा हात नमिलाऔं र नमस्कार भनेर सम्बोधन गर्न आग्रह गर्दछौं ।
२) विद्यालय विश्वविद्यालय जस्ता समूहमा बसेर अध्ययन अध्यापन हुने ठाउँमा विशेष सावधानी अपनाउन अनुरोध गर्दछौं ।
३) सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट कोरोना भाइरस सर्ने र निको हुने सम्बन्धी अनेकन त्रास र अपवाह फैलाइएका छन्, त्यसैले सामाजिक सञ्जाल र अन्य सूचनाका माध्यमबाट सूचना प्रवाह गर्दा आधिकारिक माध्यमबाट जारी गरिएका सूचना मात्र सम्प्रेषण गरी सचेतना फैलाउन नेपाल तरुण दल आम नागरिकमा हार्दिक अनुरोध गर्दछ ।
४) दैनिक उपभोग्य वस्तु, खाद्यान्न, ग्यास, मास्क, औषधि लगायत अन्य कुरामा अभाव र कालोबजारी देखिन थालेको छ, यो कुरामा सरकार र सम्बन्धित अन्य निकायलाई गम्भीर हुन ध्यानाकर्षण गराउँछौं ।
५) बजारमा देखिएको कालोबजारी र कृत्रिम अभाव निगरानी गर्न नेपाल तरुण दल केन्द्रीय समिति तरुण दलका सम्पूर्ण सदस्यलाई निर्देशन गर्दछ ।
६) एकअर्कामा रंग लगाई सद्भाव साटासाट गर्दै मनाइने होली पर्वमा विगतका वर्ष जस्तो ठूला भीडभाड हुने र सांगीतिक कार्यक्रम यो वर्ष आयोजना नगर्न/नगराउन विभिन्न तहका तरुण दलका समितिलाई अनुरोध गर्दछौं ।
७) सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी बाहिरी मुलुकबाट आउने व्यक्तिहरूको स्वास्थ्य परीक्षणमा विशेष संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउँछौं ।
८) विपत र महामारी पूर्व जानकारी गराएर आउँदैन तर पूर्व तयारी भने अवश्य गर्न सकिन्छ । त्यसैले सम्भावित जोखिम र खतरालाई न्यूनीकरण गर्न अस्पतालमा आवश्यक उपकरण सहितको छुट्टै उपचार केन्द्र र थप सुरक्षित क्वारेन्टाइन व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछौं ।
९) नेपाल तरुण दलको विभिन्न जिम्मेवारी निर्वाह गरिराख्नु भएका देशभरका सम्पूर्ण तरुणहरूलाई नोभेल कोरोना भाइरसबारे आम मानिस र समाजमा देखिएको त्रासलाई न्यूनीकरण गर्न सम्बन्धित निकायबाट जारी गरेका आधिकारिक धारणा जानकारी गराएर समाजमा सचेतना फैलाउने कार्य गर्न निर्देशन गर्दछौं । जय नेपाल !
जितजंग बस्नेत
अध्यक्ष
नेपाल तरुण दल
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।