काठमाडौं–नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो प्रहरीले एक महिला माथी निर्मम कुटपिट गर्यो।
ललितपुरको भैंसेपाटीस्थित खत्रीको घरमा एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।
घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए।
प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्यो। त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए। उनको एकजना महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ।
इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन्। पछि प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लियो। इन्स्पेक्टर पौडेलले आफूले लाठी प्रहार गरेको स्वीकारेका छन्।
बिहीबारको घटना हुँदा महिला प्रहरी घटनास्थलमै थिए। तर महिलालाई कुट्न इन्स्पेक्टर नै अघि लागे। घटनाका विषयमा प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको हो। ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।
समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ । प्रतिवेदनको रायको आधारमा पौडेलले कारबाही हुनसक्छ । स्रोतका अनुसार समितिले पौडेललाई प्रारम्भमा स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।