बिहिवार, पौष २४ २०७६
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको ९ महिनामा पनि मेलम्चीको काम थालेको छैन । कम्पनीले बुढानिलकण्ठ नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको काममा पनि ढिलाइ गरेको हो । शैलुङले ठेक्का सम्झौता भएको ९ महिनासम्म पनि काम नथालेपछि आयोजना निर्देशनालय कार्यालयले दबाब र ताकेता थालेको छ।
तीन पटक छलफल गरेर दबाब दिएपछि बल्ल अधिकारीले काम सुरू गरेको आयोजना निर्देशनालयले जनाएको छ। आयोजना निर्देशक भोजविक्रम थापाका अनुसार अधिकारीले सम्झौता भएको यतिका महिनासम्म काम गरेको नदेखिएपछि ताकेता र दबाब दिइएको हो। थापा तीन महिनाअघि आयोजना निर्देशनालयमा आएका थिए। आउनेबित्तिकै उनले शैलुङ कन्ट्रक्सनले ठेक्का पाएको बुढानिलकण्ठको प्रगति खोज्न थाले।
प्रगति शून्य देखिएपछि आफैंले ताकेता गर्न थाले। निर्देशनालय कार्यालयले कामको प्रगति पेश गर्न शैलुङलाई निर्देशन दियो। तर उसले कामको प्रगति बुझाएन। धेरै सडकको ठेक्का लिएर अलपत्र पारेका अधिकारीलाई मेलम्चीको ठेक्का पनि दिएपछि विरोध भएको थियो। प्रचण्डकी बुहारी, नेकपाकी नेता बीना मगर खानेपानी तथा सरसफाइ मन्त्रालय छन्।
शैलुङले सिआइपिइल नामक भारतीय कम्पनीलाई ज्वाइन्ट भेञ्चर राखेर मेलम्चीको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माणको ठेक्का पाएको थियो। २०१९ मार्चमा निर्देशनालयसँग एक अर्ब ४१ करोड ६९ लाख २२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
सम्झौताअनुसार ठेकेदार कम्पनीले अप्रिल महिनाबाट काम थाल्नुपर्ने थियो। तर, डिसेम्बरसम्म पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माणको काम प्रतिशतमा अन्दाज गर्नेगरी आइनसकेको निर्देशनालयका सूचना अधिकारी उज्जवल प्रजापतिले बताए। बुढानिलकण्ठ नगरपालिकाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माणको अवधि ३० महिना हो। ९ महिना काम नगरी बितेको हुनाले बाँकी समयमा काम पूरा गर्नैपर्ने बाध्यता निर्देशनालयलाई छ। किनभने, अब एक वर्षभित्र मेलम्चीको पानी काठमाडौं झार्ने सरकारको योजना छ।
बीना मगर खानेपानी मन्त्री भएकै बखत उनका ससुरा नेकपा अध्यक्ष दाहालका घरबेटी अधिकारीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएका थिए। मन्त्री मगर आफैं पनि अहिले खुमलटारस्थित सोही घरमा बस्छिन्।
गृह मन्त्रालयका अनुसार शैलुङ निर्माण क्षेत्रमा ‘बदमासी’ गर्ने ‘क’ वर्गको ठेकेदार कम्पनी हो। गृहमन्त्री रामबहादुर थापाले गत वर्ष ‘बदमासी’ गर्ने निर्माण कम्पनीको नाम सार्वजनिक गर्दा अधिकारीको शैलुङ पनि थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।