आइतवार, पौष २० २०७६
काठमाडौं– कम्युनिष्ट सरकारले नेपाली युवालाई ढाँटेको छ । स्वदेशमै केही गर्न चाहने युवालाई १० लाखसम्म सरल कर्जा उपलब्ध गराउने भनिएपनि ऋण नपत्याएपछि युवाहरु विदेश जान थालेका छन् ।
विदेशबाट फर्किएर देशमै कुखुरा फारम खोल्ने सोच बनाएका ओखल्ढुंगाका प्रदीप कार्कीले पनि सरलकर्जा स्वरुप बैंकले उपलब्ध गराउने १० लाख ऋण पाएनन्। ऋण पाइने आशा बोकेर बसेको १ वर्ष बितिसक्दा पनि ऋण नपाएपछि उनी निराश बनेका छन् । उनी जस्ता १८ हजार युवाहरुलाई बोर्डले वैदेशिक रोजगार सरल कर्जाका सूचिकृत गरेको थियो ।
मलेसिया, साउदी, कतार, ओमान, बहराइन, दक्षिण कोरिया रोजगारिका लागि पुगेर फर्किएका युवाहरु देशमै उद्यम गर्न सरकारले अघि सारेको सरलकर्जा परियोजनामा आकर्षित बनेका थिए । धेरैजसो युवाहरु कृषिका लागि आकर्षित देखिएका थिए। उनीहरुले बंगुर, कुखुरा, बाख्रा तथा माछा पालन, तरकारी फारम सञ्चालन लगायत कामका लागि रुचि देखाएका थिए । उद्योग, व्यापार तथा अन्य विभिन्न व्यवसाय सञ्चालनका लागि उनीहरुले बोर्डमा आवेन दिएका थिए।
आफूहरुलाई देशमै उद्यम गर्न प्रात्साहन गर्न सरकारले ल्याएको वैदेशिक रोजगार सरलकर्जामा आकर्षित युवाहरु पछिल्लो समय ‘बोर्डमा जाँदा बैंकमा जानु भनेर पठाउने अनि बैंकमा जाँदा ऋण नपाइने’ प्रवृतिले निराश बनेका छन्।
वैदेशिक रोजगारीबाट फर्किएर देशमै उद्यम गर्न चाहने युवाहरुले १० लाखसम्म ऋण पाउने भन्दै वैदेशिक रोजगार बोर्डले २०७५ मंसीर पहिलो सातामा सूचना जारी गरेको थियो। यो सूचनापछि रोजिरोटीकै लागि विदेशीएका युवाहरुको सरलकर्जा फारमका लागि बोर्डमा उत्साहजनक उपस्थिति थियो।
सरलकर्जाका लागि २० हजारभन्दा बढीले आवेदन दिएका थिए । बोर्डले आवेदन दिएकामध्ये उनीहरुको कार्ययोजना हेरि सरलकर्जाका लागि योग्य भन्दै १८ हजार ७ सय ३७ लाई छनोट गरी सूचीकृत गरेको थियो ।
बोर्डले सूचीकृत गरेका १८ हजार युवालाई आफूलाई पायक पर्ने ‘क’ वर्गको राष्ट्रिय वाणिज्य बैंकमार्फत सरल कर्जा लिन सुझाएको थियो । तर बैंकहरुले विदेशबाट फर्किएका युवाहरुलाई सरलकर्जा उपलब्ध गराउन आनाकानी गरिरहे।
राष्ट्र बैंकले दुई पटक सर्कुलर जारी गरेपनि युवाहरुले बाणिज्य बैंकबाट सरलकर्जा पाउन सकेनन् । बैंकसँग नजिक पहुँच भएकाहरुले मात्रै ऋण पाएको युवाहरुको गुनासो छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्म वैदेशिक रोजगारीबाट फर्किएका ६४ जना युवाहरुले मात्र वैदेशिक रोजगार सरलकर्जा प्राप्त गरेका छन् । ऋण लिन परेको आवेदनसँग तुलना गर्दा यो संख्या ज्यादै न्यून हो । त्यसयता बैंकहरुले युवाहरुलाई ऋण दिन आनाकानी गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।