काठमाडौं – डेढ महिनापछि बल्ल सञ्चालनमा आएको संसद बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलेर प्रस्तुत भएपछि २ नम्बर प्रदेश सरकारलाई भयंकर तनाव भएको छ ।
सोमवार दिउँसो २ बजे बोलाइएको प्रदेश सभाको बैठक सुरू भएको केहीबेरमै प्रतिपक्षी सांसदले प्रदेश सरकारसँग माग राख्दै अवरुद्ध गरेका छन् ।
संसदीय विकास कोषको योजनामा काम गरेका उपभोक्ता समितिको बक्यौता रकम भुक्तानीको माग गर्दै संसद बैठक अवरुद्ध गरिएको प्रतिपक्षी सांसदले जनाएका छन् ।
कांग्रेस प्रमुख सचेतक उपेन्द्र कुशवाहाले भुक्तानी सम्बन्धमा सरकारले जवाफ नदिएकाले संसद अवरुद्ध गर्ने घोषणा गरेसँगै कांग्रेस र नेकपा सांसदहरू उठेर बैठक अवरुद्ध गरेका थिए । विपक्षी सांसदले बैठक अवरुद्ध गरेलगत्तै राजपा सांसद उपेन्द्र महतोले समेत अवरोधमा समर्थन जनाउँदै विरोध गरेका थिए ।
‘सरकार अल्पज्ञानी छ वा नियतवश सांसदहरूको भुक्तानी रोकेको छ,’ बैठक अवरुद्वमा सहभागी हुँदै सत्तारुढ राजपा सांसद महतोले भने, ‘अब भुक्तानी नपाएका पीडितहरूले मन्त्रीहरूलाई कालोझण्डा देखाउँछन् । विरोध प्रदर्शन गर्छन् ।’
यसअघि कात्तिक २९ गते बसेको प्रदेश सभाको बैठक डेढ महिनापछि सोमबार बसेको थियो । तर बैठक झण्डै ४० मिनेटजति बसेपछि सांसदहरूले अवरुद्ध गरेका छन् ।
सांसदहरूले बैठक अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । स्थगित भएको बैठक पुनः बस्ने तयारी गर्दा पनि सहमति जुट्न नसक्दा मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मंगलबारको बैठकमा मुख्यमन्त्री लालबाबु राउत आएर रकम निकासा हुन नसकेको सन्दर्भमा जवाफ पेश गर्ने कार्यक्रम तय राखिएको छ । विपक्षी सांसदहरूले सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।