काठमाडौं - प्रहरीले गत सोमबार एकसय २२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर बटुलेको चर्चा समयसँगै उसले गरेको फितलो अनुसन्धानका कारण आलोचित हुन थालेको छ।
प्रहरीले काठमाडौं र ललितपुरका ७० बढी घरबाट चिनियाँ नागरिकले चलाइरहेको साईबर अपराधविरुद्ध एकसाथ कारबाहीको सूची बनाएपनि पुस ७ मा जम्मा नौ घरमा मात्र छापा मारेको थियो।
अझ, प्रहरीलाई ४ अर्ब लगानीमा वैधानिक रुपमा खुलेका २१ बढी सफ्टवेयर कम्पनीहरु मार्फत चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्र धरासायी बनाउन साईबर अपराध गरिरहेको जानकारी भएपनि उसले त्यो महत्वपूर्ण सूचनालाई बेवास्ता गरेको पाइएको छ।
प्राप्त प्रहरी टोलीले गरेको गोप्य अनुसन्धान रिपोर्ट अनुसार पहिलो चरणमा पत्ता लागेका कम्तीमा ७० घरहरुमा छापा मारेर एकहजार बढी चिनियाँ नागरिक नियन्त्रणमा लिने योजना एकाएक तुहिएको छ।
यतिमात्र होइन, प्रहरीले छापा मारेका घरहरुमध्ये महाराजगञ्ज क्षेत्रको एउटा घरमा प्रहरी पुग्नुअघि नै त्यहाँ रहेका चिनियाँ नागरिक र उनीहरुका विद्युतीय सामाग्री गायब भएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए।
नेपालमा व्यवसाय र विभिन्न आवरणमा बसेर चिनियाँ युवाहरुको सहयोगमा चीनका प्रमुख बैंकहरुको रकम निकाल्ने, अनलाईन जुवा खेलाउने, व्यक्तिगत सूचना चोरेर धम्क्याउने तथा फिरौती उठाउने र अश्लिल सामाग्री देखाएर रकम लिने यो धन्धामा संलग्न मुख्य अभियुक्तहरुको पहिचान भएपनि प्रहरीले उनीहरुलाई पक्राउ नगर्नुको कारण पत्ता लगाउन यतिबेला चीन र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु अनुसन्धानमा जुटेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।