आइतवार, पौष १३ २०७६
काठमाडौं– गुण्डा नाइके ‘दुर्गा’ भनिने देवान राई र विष्णु धिताललाई पक्राउ परेका छन् । काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । राई र धितालको समूहले व्यापारीलाई माग गरेअनुसारको रकम नदिए हातहतियार देखाई ज्यान मार्ने तथा हात खुट्टा भाँचिदिने धाकधम्की समेत दिँदै आएको प्रहरीद्वारा विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको कोटेश्वर, पेप्सीकोला क्षेत्रमा गुण्डागर्दी गर्दै आएका राई र धिताललाई प्रहरीले पक्राउ गरेपछि व्यापारीहरूले राहत महशुस गरेका छन् ।
दुर्गा’ जेलमा सजाय भोगिरहेका गुण्डा नाइके रमेश बाहुनका दाहिनेहात मानिन्छन् । ‘दुर्गा’ले कोटेश्वर, तीनकुने, बानेश्वर लगायतका क्षेत्रमा ‘बाहुन’को नाममा हप्ता असुली गर्दै आएको अपराध महाशाखाले जनाएको छ ।
गुण्डा नाइके ‘बाहुन’ले निर्माण व्यावसायी उद्योग व्यवसायी र रामेछापको हाइड्रोपावर सञ्चालकहरूलाई समेत जेलबाटै फोन गरी धम्क्याउने गरेको उजुरी प्रहरीमा परेको छ । ‘बाहुन’ले ‘दुर्गा’लाई नै रकम लिन पठाउने गरेको प्रहरीसँग रेकर्ड रहेको छ ।
बाहुन’ अपराधको जगतका बादशाह मानिन्छन् । ‘बाहुन’ हाल लागूऔषध कारारोबारमा जेल जीवन बिताइरहेका छन् । जेलबाट सेटिङ मिलाएर बाहुनले व्यापारी, ठेकेदारहरूलाई फोन गरेर अबैध असुली गर्दै आएको स्रोतले जनाएको छ ।
गुण्डा नाइके रमेश बाहुनको समूहमा रहेर गैरकानूनी गतिविधि गर्दै आएका ‘दुर्गा’लाई प्रहरीले उच्च निगरानीमा राख्दै आएको थियो ।
गुण्डा नाइके ‘दुर्गा’ले हातहतियार तथा खरखजानाको मुद्धामा पाँच वर्ष जेल जीवन बिताइसकेका छन् ।
त्यसैगरी, पक्राउ परेका विष्णु धिताल गुण्डा नाइके दावा लामाका दाहिनेहात मानिन्छन् । गुण्डा नाइके धितालले गिट्टी, ढुंगा र बालुवा व्यापारीलाई धम्काउने कार्य गर्दै आएका थिए । प्रहरीमा उनीविरुद्ध उजुरी परेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।