काठमाडौं – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा शुक्रवार दिउँसो भएको सुमो दुर्घटनामा मृतकको संख्या ५ पुगेको छ ।
हेटौंडा–सिस्नेरी–काठमाडौं सडक खण्डको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ओखरडाँडामा रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ३४३३ नम्बर सुमो दुर्घटना भएको हो ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेमा सिन्धुली जिल्ला दुधौली नगरपालिका–८ का ५८ वर्षीय नेत्रमान रुसाल (भुजेल), भुजेलका पत्नी ५२ वर्षीया भक्तकुमारी रुसाल र रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ९ का केदार तिमल्सिना रहेका छन् ।
सुमो सञ्चालक र चालकको लापरवाहीका कारण उनीहरू सबैको घटना भएको सात घण्टापछि मात्र सनाखत भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहटको चन्द्रपुर नगरपालिका–९ का २१ वर्षीय मनिष विकको काठमाडौंको मनमोहन अस्पतालमा र सोही स्थानका २० वर्षीया सिर्जना विकको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी सुमोमा सवार चार जना यात्रु घाइते भएका थिए । घाइते हुनेमा सुमोका चालक हेटौंडा उपमहानगरपालिका–१७ का २८ वर्षीय अनिल विक, सर्लाही जिल्ला बागमती नगरपालिका ३ का २७ वर्षीय रन्जित रिजाल, रौतहट जिल्ला माधवनारायण नगरपालिका ५ का ५२ वर्षीय जय साह र रौतहटकै गरुडा नगरपालिका ५ का ३० वर्षीय नन्दकिशोर साह छन् ।
सुमो चालक विक र नन्दकिशोर साहको मेडिसिटी अस्पतालमा तथा जैसा साह र रिजालको वयोधा अस्पतालमा उपचार भइरहेको छ ।
सुमो अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा लगिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।