काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको हीत विपरीत अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गराउन खोजेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीमबहादुर रावल एक्लै लडिरहेका छन् ।
स्थायी कमिटी बैठकमा समेत खरो रुपमा उत्रिएका नेता रावल अझै थाकेका छैनन् । रावलले विगतमा समेत ओली सरकारका अराष्ट्रिय कदमको खुलेर विरोध गर्दै राष्ट्रवादी छवि बनाएका थिए ।
नेता रावलले एमसीसीका कतिपय प्रावधान नेपालको हितमा नरहेको दाबी गरेका छन् । आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको स्पष्ट पार्दै उनले कतिपय विषय दुवै देशले स्पष्ट पार्नुपर्ने बताएका छन् ।
शुक्रवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्वमन्त्री समेत रहेका रावलले भनेका छन्, ‘मैले अमेरिकी सहयोग लिनुहुँदैन भनेको होइन तर सहयोग लिँदा आफ्नो देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्नुपर्ने हुन्छ ।’
नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानमा प्रश्न उठाउँदा कतिपयले अल्पज्ञानी भएको भनेर आरोप लगाएको समेत उनको गुनासो गरे । ‘यस्तो भन्नेहरूलाई म भन्न चाहन्छु – यो सम्झौताको मस्यौदा सुरूदेखि अन्त्यसम्म सबैभन्दा बढी पढ्ने व्यक्ति मै हुँ । पढ्दै नपढी जथाभावी बोल्नु हुँदैन, नेपाली जनतालाई अन्धकारमा राख्ने षड्यन्त्र गर्नुहुँदैन ।’
सम्झौताको दफा ७ को १ मा ‘सम्झौता र नेपालको कानून बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ’ भन्ने उल्लेख रहेको भन्दै उनले प्रश्न गरे, ‘कुनै देशसँग गरिएको सम्झौतामा नेपालको कानून बाझिएमा नेपालको कानून नै त्यसको अधिनमा रहने ?’ सम्झौताको धारा ३ दफा ३ मा एमसीसीलाई बौद्धिक सम्पत्तिको अधिकार दिएकोमा पनि उनले प्रश्न उठाए ।
सम्झौताको ५ ‘क’ मा ‘सरकारले एमसीसीलाई चित्तबुझ्ने योजना तयार पारी पठाउनुपर्नेछ र त्यस्तो योजना पठाउँदा भारत सरकारले योजनाको समर्थन गरेको हुनुपर्नेछ’ भनेर उल्लेख गरिएको सुनाउँदै रावलले भने, ‘यो सम्झौता दुुई देशको हो कि नेपाल, अमेरिका र भारतबीच भएको त्रिपक्षीय सम्झौता हो ? यस्तो गर्नु भनेको नेपालको आत्मनिर्णयको अधिकारलाई सीमित बनाउनु हो ।’
आईपीएससम्बन्धी अमेरिकाको रक्षा मन्त्रालयबाट प्रकाशित दस्तावेजको ३८ नम्बर पेजमा नेपालसम्बन्धी कुरा उल्लेख गरिएको रावलले सुनाए । उनले भने, ‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिका भ्रमण गरेलगत्तै नेपाल र श्रीलंका सबैभन्दा पछिल्लो यो रणनीतिमा संलग्न देशको रुपमा देखिएका छन् ।’
नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा महाकाली नदीको एकीकृत विकास सम्झौता गर्दा त्यो बेला तत्कालीन नेकपा एमाले पार्टी फुटेको सुनाउँदै रावलले थपे, ‘त्यतिबेला हामीले भनेका थियौं कि लिम्पियाधुरा महाकाली नदीको उद्गमस्थललाई प्रष्ट पारेर मात्रै सम्झौता गरौं तर खर्बौं रुपैयाँ नेपालमा आउँछ, किन विरोध गरेको भनेर प्रश्न गरियो । पश्चिमबाट सूर्य उदाउँछ भीम रावलजी भनेर सोधियो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।