काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा लामो समय टाँसिएर बसेका समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव कम्युनिस्टबाट लखेटिएपछि अन्ततः कांग्रेसको शरणमा पुगेका छन् ।
कांग्रेसकै भोटले गोरखामा सांसद पद जितेका बाबुराम भट्टराई कांग्रेसको गुन बिर्सिएर कांग्रेसलाई संग्रहालयमा राख्नुपर्नेसम्मका अभिव्यक्ति दिँदै हिँडेका थिए । कम्युनिस्टले लखेटेपछि डा. भट्टराईले अन्ततः कांग्रेसकै शरणमा आउनुपरेको छ ।
प्रधानमन्त्री ओलीले वास्ता गर्न छाडेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ भने ओली सरकारको दुईतिहाइ बहुमत गुमेको छ । अब ओली सरकारको दुईतिहाइ दम्भ समाप्त भएको उपेन्द्र यादवले नै घोषणा गरेका छन् ।
ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अब नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्ने घोषणा गरे ।
पत्रकार सम्मेलनमा उनले विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुने बताए । ‘प्रतिपक्ष भएपछि अब व्यवहार र विचार मिल्ने दलसँग सहकार्य गरेर अगाडि बढ्छौं,’ भट्टराईले भने, ‘अब पनि सरकारमा संविधान संशोधन हुन्छ भनेर जानु त्यो जति बेबकुफी अरु हुँदैन ।’
कांग्रेसले देशलाई कम्युनिस्ट निरंकुशताबाट मुक्त गर्न निरन्तर संघर्ष गरिरहेको छ । अब कांग्रेससँगको संघर्षमा राष्ट्रिय जनता पार्टी (राजपा) सँगै समाजवादी पार्टी समेत समावेश हुने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।