बुधवार, पौष ९ २०७६
काठमाडौं– केही दिनअघि प्रहरी प्रधान कार्यालयले सात जिल्लाका एसपीको सरुवा गरेको थियो । सरुवाको सूचीसमेत सार्वजनिक भएको थियो । तर, अहिले प्रहरी प्रधान कार्यालयले जारी गरेको सरुवाको सूची शक्तिकेन्द्रको प्रभावमा धोती लगाइएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको सहमतिमै प्रहरी प्रधान कार्यालयले एसपीको सरुवा गर्ने गर्छ । प्रहरी प्रधान कार्यालयले गरेको सो सरुवा चितवनका एसपी दानबहादुर मल्लले बदर गराइदिएका छन् । प्रहरी प्रधान कार्यालयले उनको चितवनबाट सरुवा गरी एसपी गंगा पन्तलाई पठाएको थियो । तर, मल्लले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शक्ति लगाएर आफ्नो सरुवा रोकेका छन् ।
मल्लले आफ्नो सरूवा तत्कालका लागि स्थगित भएको जानकारी दिएका छन् । आफू चितवन प्रहरी प्रमुख भएको १० महिना पनि नभएकाले सरुवा रोकिएको उनको दाबी छ ।
गत पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भई चितवनमा गंगा पन्त आउने सूचि गृहमन्त्रालयले सार्वजनिक गरेको थियो । लामो समय प्रचण्डको सुरक्षा गार्डको रुपमा काम गरेका मल्ललाई उनकै दबाबमा सरुवा रोकिएको प्रहरी स्रोतले बतायो । चितवनमा पहिलो महिला प्रहरी प्रमुखका रुपमा आउने भने पनि उनको आगमन अनिश्चित भएको छ ।
नेपाल प्रहरीमा चेन अफ कमान्ड भत्किएको विषयले निकै चर्चा पाएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा डीआईजी विश्वराज पोखरेल सरुवा भएपछि यो निकै विवादमा परेको थियो ।
उनको सरुवा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्य उपाध्याय कार्यालय गएकै छैनन् । उनले आफू जुनियर प्रहरी अधिकृत मातहतमा रहेर काम गर्न नसक्ने भन्दै कार्यालय जान मानेका थिएनन् । महानगरीय प्रहरी कार्यालयको आयुक्तमा डीआईजी पोखरेलको काज सरुवा भएपछि उनको प्रहरी प्रधान कार्यलयमा काज सरुवा गरिएको प्रहरी स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।