काठमाडौं – सोमबार पक्राउ परेका १२२ जना चिनियाँ अपराधीलाई काठमाडौं जिल्ला प्रशासनमा पुर्याउँदा ठूलै भीड देखियो । जिल्ला प्रशासन कार्यालयले सबै अभियुक्तलाई थुनामा राख्न ५ दिनको म्याद थप गरेको छ ।
सबै अभियुक्तलाई एकै ठाउँमा राख्न ठाउँ नभएपछि प्रहरीले काठमाडौंका विभिन्न प्रहरी कार्यालयका थुनामा राखेको छ । चिनियाँ अभियुक्तहरूलाई महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी वृत्त महाराजगन्ज, महानगरीय प्रहरी वृत्त दरबारमार्ग, महानगरीय प्रहरी वृत्त बालाजु र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ ।
सोमबार पक्राउ परेका रहेका चिनियाँ अभियुक्तलाई थुनामा राख्ने म्याद थप्न आज जिल्ला प्रशासन पुर्याइएको थियो । महानगरीय प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार काठमाडौं उपत्यकाका वृत्त र परिसरमा रहेका ‘वान टन’ ट्रकमा राखेर सबै अभियुक्तलाई प्रशासनमा उपस्थित गराइएको थियो ।
पक्राउ परेका १२२ जना चिनियाँ नागरिकसँग सोधपुछ गर्न प्रहरीले विश्वभाषा क्याम्पसका १० जना भाषा अनुवादकलाई बोलाएर राति २ बजेसम्म सोधपुछ गरेपनि सबैसँग सामान्य सोधपुछ गर्न भ्याइएको छैन । अभियुक्त धेरै भएकाले प्रहरीलाई अनुसन्धानमा असहज भएको छ ।
‘भाषा अनुवादक पर्याप्त मात्रामा नभएकाले हिजो राति २ बजेसम्म काम गर्नुपर्यो,’ प्रहरी स्रोतले भनेको छ, ‘बिहान भाषा अनुवादकहरू आउनुभएन रातिको अनिदोले गर्दा होला ।’
पक्राउ परेका चिनियाँबाट प्राप्त भएका प्रमाण मात्रै ८–१० ट्रकसम्म हुनसक्ने देखिएको छ । चिनियाँले डेरा गरेको घर कब्जामा लिएर प्रहरीले प्रमाण संकलन गरिरहेको छ । चिनियाँले प्रयोग गरेका ल्यापटप, मोबाइल लगायत सामान संकलन गर्न ८–१० वटा ट्रक प्रयोग गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
एकै पटक धेरै जना पक्राउ परेकाले चिनियाँलाई राख्नको लागि स्थान समेत अभाव भएको छ । महानगरीय प्रहरी परिसरमा ४३ जना, महानगरीय प्रहरी वृत्त महाराजगन्जमा ३८ जना, महानगरीय प्रहरी वृत्त दरबार मार्गमा १४ जना, महानगरीय प्रहरी वृत्त बालाजु १५ र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा ११ जनालाई राखिएको छ ।
नेपाल प्रहरीले चिनियाँ नागरिक समाउन अत्याधुनिक सामान र औजारको प्रयोग गरेको छ । विश्वस्तरका औजारहरू प्रयोग गरेर प्रहरीले एकैपटक त्यतिधेरै संख्यामा चिनियाँलाई पक्राउ गरिएको छ ।
महानगरका ४ वटा वृत्त र प्रहरी परिसरमा रहेका चिनियाँ नागरिकलाई खानामा समस्या नरहेको एसएसपी सुवेदीले बताए । ‘खानामा समस्या छैन,’ सुवेदीले भने, ‘उनीहरूले कपाकप भात खाने रहेछन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।