काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकसाता चलेको स्थायी समिति बैठक आइतबार सकिएको छ। बैठकपछि केही सञ्चार माध्यमले बैठकका निर्णयबारे नेता भीम रावललाई प्रश्न गरे। रावलले सञ्चारकर्मीलाई स्थायी समिति बैठकका निर्णयबारे फटाफट जानकारी दिए। तर भीम रावलले सञ्चारकर्मीमाझ बोलेकोमा नेकपाकै नेताले आपत्ति जनाएका छन् । नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रावल बोलेकोमा आपत्ति जनाएका हुन् ।
आइतबार राति थापाले आफ्नो फेसबुकमा भीम रावलले मिडियासामू बोलेको भीडियो सेयर गर्दै त्यसको कडा आलोचना गरेका छन्। पार्टीका निर्णय सुनाउने जिम्मा पार्टी प्रवक्ताको भएकोले रावलले प्रवक्ताको काम गर्नु अराजक व्यवहार भएको आरोप थापाले लगाएका छन्।
‘कमरेड भीम रावल सुदूरपश्चिम प्रदेश समन्वय कमिटी इन्चार्ज रहनुभएको छ। अनि प्रवक्ताको काममा यो के को अभ्यास हो ?’ थापाले लेखेका छन्।–‘कुन काम कसको जिम्माको हो ? ख्याल गरिदिने कसले हो त रु अन्यथा, कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ता जस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ।’
पार्टीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय प्रचार तथा प्रकाशन विभागको प्रमुख र आफूलाई उपप्रमुख बनाएको स्मरण गराउँदै थापाले पार्टीका निर्णय बाहिर ल्याउने जिम्मा आफूहरुको भएको भन्ने प्रस्ट्याउन खोजेका छन्। ८ घण्टापछि सोमबार बिहान थापाले फेसबुकको स्टाटस भने डिलिट गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।