काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाप्रति आक्रोशित भएका छन् ।
पछिल्ला केही काण्डमा श्रेष्ठले दिएका अभिव्यक्तिलाई लिएर देउवा र ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आपत्ति जनाएका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको शीर्ष नेताको बैठकमा देउवा र ओलीले नारायणकाजीको अभिव्यक्तिबारे चासो राखेका थिए ।
श्रेष्ठले केही समयअघि मिडियामा कुनै ‘कोट र टार’लाई छोडिन्न भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलका नेता ओलीले प्रधानमन्त्री प्रचण्डसमक्ष आपत्ति जनाएका थिए ।
ओलीको भनाइमा कांग्रेस सभापति देउवाले पनि समर्थन गदै ठीक भएन भनेपछि प्रचण्डले ‘उहाँले अलि बढी बोल्नुभयो । म कुरा गर्छु’ भनेका थिए ।
गृहमन्त्री श्रेष्ठले गोरखामा कांग्रेसलक्षित गरेर बोलेको कुरा पनि ओलीले उप्काएपछि देउवा जंगिएका थिए । उनले बैठकमै रहेका कांग्रेस प्रमुख सचेतक लेखकलाई त्यसबारे खोजेर जानकारी गराउन निर्देशन दिएका थिए । ओलीले गृहमन्त्री श्रेष्ठ कामभन्दा बढी बोलेर स्टन्टमा उत्रेको भन्दै गुनासो गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले आफूले मन्त्री श्रेष्ठसँग यस विषयमा कुरा गरिसकेको जानकारी गराएका थिए । सत्तारुढ भए पनि गृहमन्त्री श्रेष्ठको भूमिकाप्रति कांग्रेस सभापति देउवा सन्तुष्ट छैनन् ।
विभिन्न घटनामा श्रेष्ठदे कांग्रेस र कांग्रेसका नेताको चरित्रहत्या गर्ने क्रमलाई निरन्तरता दिएपछि उनको विकल्प सोच्न देउवाले प्रचण्डलाई धेरै अगाडिदेखि आग्रह गर्दै आएका छन् ।
एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको संलग्नता रहेको आशंका गर्दै उनको राजीनामा मागेको छ । उसले यस विषयमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।