काठमाडौं - मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका बेला लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।
निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । निर्वाचन आयोगले यससम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ । बिदाबारे मन्त्रिपरिषदबाट निर्णय हुनुपर्छ ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो । यसपटक आइतबार मतदान हुँदै छ । मंसिर २, ४ र ५ गते सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ ।
मंसिर ३ गते शनिबार पर्छ । यसरी चुनावका बेला लगातार चार दिन सार्वजनिक बिदा हुने भएको हो । अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको हो ।
निर्वाचन आयोगको सिफारिसअनुसार बिदासम्बन्धी निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् । ‘निर्वाचनमा कति दिन बिदा दिनेबारे अहिलेसम्म निर्णय भइसकेको छैन,’ उनले भने, ‘निर्वाचन आयोगको सिफारिसअनुसार यसबारे सरकारबाट निर्णय भएपछि सार्वजनिक गर्नेछौँ ।’ त्रिभुवन विश्वविद्यालयले भने १ देखि ५ मंसिरसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।
विभिन्न निजी विद्यालयले पाँच दिन बिदा दिने नोटिस पठाइरहेका छन् । ठूला निजी विद्यालयमा मतदानस्थल पर्ने भएकाले पनि धेरै दिन बिदा दिइएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।