काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मन मिल्ने नेता माधवकुमार नेपाल सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमालेमै फर्किने भएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक छलफलमा लागेका छन् ।
प्रधानमन्त्री ओली पक्षका नेताहरूबीच बालुवाटारमा छलफल भइरहेको छ । पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको संयुक्त छलफलबाट नेपाल पक्ष छुट्टिएका बेला बालुवाटारमा आन्तरिक छलफल भइरहेको छ ।
ओली पक्षको छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरू सहभागी भएका बालुवाटार स्रोतले जानकारी दिएको छ । माधव नेपालहरू फर्किने भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति बनाउन गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ ।
आईतवार सर्वोच्च अदालतको आदेशपछि ओली निकटका नेताहरूले फैसलाको स्वागत गरेपछि प्रचण्ड–नेपाल पक्ष संकटमा परेको हो । अन्ततः प्रचण्ड र नेपाल छुट्टिएका छन् ।
नेकपा विभाजनउन्मुख रहेको अवस्थामा प्रधानमन्त्री ओली संकटमा परेको बेला सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेर ओली पक्ष खुसी भएको छ ।
सोमवार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकपछि अब माधव नेपाल र झलनाथ खनाल लगायतका तत्कालीन एमालेका नेताहरु एमालेमै फर्किने भएका छन् भने प्रचण्डहरु पेरिसडाँडामै रहेर माओवादी केन्द्र पार्टी चलाउने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।