काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा संसद पुनःस्थापना गरेपछि नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष माधवकुमार नेपाललाई लड्डु खुवाएका छन् ।
चितवनमा रहेका अध्यक्षद्वय प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु बाँडेर संसद पुनःस्थापनाको खुसी साटासाट गरेका छन् ।
संसद पुनःस्थापनापछि प्रतिक्रिया जनाउँदै प्रचण्डले जनताको जीत भएको जनाएका छन् ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ ।

संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।
सर्वोच्च अदालतले फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । राष्ट्रपतिले आगामी बैशाख १७ र २७ गते चुनाव गर्ने गरी मिति घोषणा गरेकी थिइन् । तर अदालतले त्यसलाई बदर गरिदिएको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित कानून व्यवसायीले १३ वटा रिट सर्वोच्च अदालतमा दायर गरेका हुन् । सर्वोच्चमा परेका रिटमाथि पुस ८ गतेदेखि सुनुवाइ भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।