बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

रामकुमारी झाँक्रीलाई पक्राउ गरेर प्रचण्ड डराउँछन् ?

रामकुमारी झाँक्रीलाई पक्राउ गरेर प्रचण्ड डराउँछन् ?

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 4.1K
    SHARES

  • रामकुमारी झाँक्रीलाई पक्राउ गरेर प्रचण्ड डराउँछन् ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीवार पक्राउ गरेको ५ घण्टापछि रिहा गरेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेतृ झाँक्रीलाई राज्यविरुद्ध कसूरको आरोप लगाएर पक्राउ गरिएको थियो । 

    महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई ५ घण्टा प्रहरी कार्यालयमा राखी लिखित बयान लिएर छाडेको छ ।

    झाँक्रीको पक्राउपछि अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार अनुदार भएको टिप्पणी भइरहेको छ । झाँक्रीको पक्राउलाई लिएर सबैजसो राजनीतिक दलले सरकारी रबैया अभिव्यक्ति स्वतन्त्रताप्रति कठोर देखिएको भन्दै आलोचना गरेका छन् ।

    झाँक्रीलाई पक्राउ गरेर सरकारले शीर्ष नेताहरु (प्रचण्ड–नेपाल) लाई तर्साउन खोजेको आरोप समेत लागेको छ । ‘झाँक्रीको पक्राउ सामान्य विषय होइन । यसले अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी अंकुश देखाएको छ भने शीर्ष नेताहरुलाई समेत तर्साउन खोजेको आभास हुन्छ तर यस्तो रबैया धेरै दिन टिक्दैन,’ नेकपाका एक उच्च नेताले भने ।

    ती नेताको भनाइलाई पुष्टि गर्दै कानूनविद् भीमार्जुन आचार्यले राज्य आतंक भएको बताए । ‘यो राज्य आतंक हो । झाँक्रीलाई पक्राउ गर्न गाली बेइज्जती ऐन आकर्षित हुनुपर्नेमा राज्य विरुद्धको अपराधसम्बन्धी कानूनी दफा लगाइएको छ, जुन लगाउन मिल्दैन । यो तर्साउन प्रयोग गरिएको दफा हो । कसैको मानमर्दन भए गाली बेइज्जती ऐन अलग्गै छ,’ कानूनविद् आचार्यले भने ।

    राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीले रिहा भएपछि व्यक्तिको आचरणविरुद्ध बोलिरहने दोहोर्‍याउँदै आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको र प्रतिगमनकारीहरुको झुक्ने प्रक्रिया सुरू भएको प्रतिक्रिया दिइन् ।

    नेतृ झाँक्रीले गोरखामा एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर उनलाई पक्राउ गर्न केही दिनअघिदेखि नै प्रहरीलाई दबाब रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छामा झाँक्रीलाई पक्राउ गर्न दबाब दिइएको थियो ।

    ‘प्रधानमन्त्रीकै निर्देशन छ भन्ने आएपछि हामीलाई पक्राउ गर्न दबाब परेको थियो,’ प्रहरी प्रधान कार्यालय उच्च स्रोतले भन्यो । झाँक्रीको पक्राउपछि दिउँसोतिर बालुवाटारबाटै छाड्न निर्देशन दिइएको थियो ।

    ‘उहाँलाई हामीले ल्याएर सोधपुछ गर्‍यौं तर बालुवाटारबाटै छाड्न निर्देशन आयो, साँझ घर लगेर छाड्यौं,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

    रिहा भएपछि नेतृ झाँक्रीले व्यक्तिको आचरणविरुद्ध बोलिरहने बताएकी छन् । उनले आफूलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको बताइन् । उनले प्रतिगमनकारीहरुको झुक्ने प्रक्रिया सुरू भएको दाबी समेत गरिन् । राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी झाँक्रीले संवैधानिक राष्ट्रपति संस्थाप्रति मेरो सधैं सम्मान छ र भोलि पनि रहेनछ भन्ने लिखित बयान दिएकी थिइन् ।

    ‘सम्मानित राष्ट्रपति संस्थाप्रति मेरो हिजो पनि सम्मान थियो, आज पनि छ र भोलि पनि रहनेछ’ भन्ने लिखित बयान दिएपछि उहाँलाई घरमै लगेर छाडियो,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भनेका छन् ।   

    उनलाई छाड्नुअघि प्रहरीले झाँक्रीलाई जिम्मा लिन नेताहरुलाई बोलाएको थियो । तर नेताहरुले झाँक्रीलाई निशर्त छाड्नुपर्ने अडान राख्दै जिम्मा नलिने बताएका थिए । त्यसपछि प्रहरीले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई फोन गरेर घरमा लगेर छाडिदिने बताएको थियो ।

    झाँक्री पक्राउपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई महाशाखा पुगेर भेटघाट गरेका थिए । उनीहरुले प्रहरीसँग पक्राउ गर्नुको कारणबारे जानकारी समेत लिएका थिए । उनीहरुले झाँक्रीलाई निशर्त रिहा गर्न प्रहरीलाई आग्रह गरेका थिए ।

    घटनाको विरोध गर्दै नेकपा प्रचण्ड–नेपाल पक्षले नेतृ रामकुमारी झाँक्रीको पक्राउले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको जनाएको छ । झाँक्री पक्राउ परेको केही समयपछि पार्टी प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले पार्टी आश्चार्यचकित भएको जनाएका छन् ।

    ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैन भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनलाई राज्यविरुद्धको कसूर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन,’ विज्ञप्तिमा उल्लेख छ ।

    सो पक्षका युवा विद्यार्थी संगठनले अपराह्न ४ बजे झाँक्रीको रिहाइका लागि प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित उनको निवासमा पुगेका प्रहरीसँग पनि प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताको सामान्य झडप भएको थियो ।

    प्रहरीले बयान लिने क्रममा झाँक्रीले गोरखाको कार्यक्रममा बोलेको भिडियो पनि देखाएको थियो । ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा, ऐश–आराम छाडेर, शीतलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु,’ झाँक्रीले गोरखामा भनेकी थिइन् ।

    त्यसपछि नेकपा ओली समूहको अनेम संघले गृहमन्त्री रामबहादुर थापालाई भेटेर पक्राउ गर्न माग गरेको थियो । काठमाडौंबाहिर रहेकाले उनलाई यसअघि पक्राउ नगरेको भए पनि बुधवार पक्राउ गर्ने तयारी थियो । तर बुधवार प्रचण्ड–नेपाल पक्षको विरोधसभा भएकाले प्रहरीले उनलाई पक्राउ गरेन ।

    बिहीवार बिहान महाशाखाका प्रमुख थापाले फोनबाट आफैं उपस्थित हुन झाँक्रीलाई आग्रह गरेका थिए । झाँक्रीले पक्राउ पूर्जी लिएर आउन भनेपछि पक्राउ पुर्जी जारी गरेर गिरफ्तार गरी महाशाखा पुर्‍याइएको हो । उनलाई पक्राउ गरेपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली समेत महाशाखा पुगेको थियो ।

    झाँक्रीलाई पक्राउ गरेपछि नेताहरुले सरकारको चर्को आलोचना गरेका थिए । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले झाँक्रीको पक्राउपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा द्वन्द्व निम्त्याउन लागिपरेको बताए । उनले पूर्वरानी ऐश्वर्यसँग जोडिएको घटना स्मरण गर्दै त्यतिबेला रानीलाई गाली गर्दा पनि कोही कसैले पक्राउ पर्नु नपरेको बताएका थिए ।

    ‘हिजो राजा वीरेन्द्रकी श्रीमती ऐश्वर्यलाई पम्फादेवीको बैंक खाता भनेर त्यत्रो नारा लगाएका होइनन् ? बोलेका होइनन् ? कोही मान्छे गिरफ्तार भएका थिए ? आज त राष्ट्रपतिमाथि खासै बोलिएको केही पनि होइन,’ अध्यक्ष नेपालले भने, ‘बोल्न पनि नपाउने ? घुम्न पनि नपाउने ? मुखमा टेप लगाएर बस्नुपर्ने ?’

    सो पक्षका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृ झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताए । ‘कमरेड रामकुमारी झाँक्रीलाई पुलिसले हिजोबाटै पक्राउ गर्न खोजेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरियो,’ उनले भने । आफूहरुले हिजोदेखि बिहानसम्म रोक्न प्रयास गरे पनि जबरजस्ती पक्राउ गरेको उनको भनाइ थियो ।

    ‘झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला हो जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरु राख्ने काम गर्‍यो, विचारमाथि लोकतन्त्रमाथि ताला लगाउन उहाँलाई पक्राउ गरिएको हो,’ उनले भनेका छन् ।

    वरिष्ठ नेता झलनाथ खनालले झाँक्रीलाई तत्काल रिहा नगरे कडा प्रतिकार गर्ने चेतावनी दिएका थिए । ‘झाँक्रीलाई पक्राउ गर्नु लोकतन्त्रविरुद्ध अर्को सर्मनाक घटना हो,’ वरिष्ठ नेता खनालले भने । खनालले तुरुन्तै रिहा हुनुपर्ने नत्र बाध्य भएर आन्दोलन गर्नुपर्ने बताएका थिए ।

    जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रामकुमारी झाँक्री पक्राउ परेको विषयमा ओली सकारको काल आएको टिप्पणी गरेका थिए । ‘ओली सरकारले राष्ट्रपतिबारे अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ । संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ?’ भट्टले प्रश्न गरे ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताए । ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नांगो हस्तक्षेप गरेको छ,’ उनले भने ।

    नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराइले रामकुमारीलाई पक्राउ गरेर राष्ट्रपतिलाई धूलिसात पारेको टिप्पणी गरेका छन् । ‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरूले नै राष्ट्रपतिलाई धूलिसात पार्ने भए । राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर,’ उनले भने ।

    नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेलाई प्रश्न गर्न पाइने बताउँदै रामकुमारी झाँक्रीको पक्राउप्रति तीब्र असन्तुष्टि जनाए । थापाले अभिव्यक्ति स्वतन्त्रतालाई बन्धक बनाउन खोजेको समेत बताए ।

    ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजले, अहिले राष्ट्रपतिले । सरकार झ्यालखानाको संख्या थप किनकि सत्यको पक्षमा बोल्न मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन,’ नेता थापाले भनेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend