काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको घोषणा गरेपनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावमै नगई प्रधानमन्त्री बन्ने दाउमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाबी गरेका छन् ।
पोखरेलले नेपाली कांग्रेस र मधेसवादी दलसँग साँठगाँठ गरेर प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा लागेको बताए ।
सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्ड र माधव नेपालले महाधिवेशनबाट चुनिएको अध्यक्ष ओलीलाई हटाउने गलत प्रयास गरेको समेत बताए । पार्टी छाडेर गएकाहरूलाई फिर्ता हुन समेत पोखरेलले आग्रह गरे ।
पोखरेलले पार्टी एकताका बेलादेखि नै पार्टीभित्र अन्तरिक समस्या रहेको बताएका छन् । २ पार्टीबीच एकता हुने बेलामा पार्टीभित्र राम्रोसँग अभ्यास नभएकाले अहिले पार्टीमा फुटको अवस्था आएको पोखरेलले बताए ।
आगामी बैशाख १७ र २७ गते २ चरणमा चुनाव हुने बताउँदै उपप्रधानमन्त्री पोखरेलले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए । ‘चुनाव हुँदैन कि भन्ने अब कुनै शंका छैन, निर्वाचन आयोग चुनावको तयारीमा लागिसकेको छ,’ उनले भने ‘यो कुनै राजा महाराजाले गराउन लागेको चुनाव हैन । जनताबाट निर्वाचित सरकारले नयाँ जनादेश लिन गराउन लागेको चुनाव हो ।’
पोखरेलले प्रचण्डले जहिले पनि अवसर, अन्तरविरोध र पार्टीलाई तरङ्गित पारेर अगाडि बढ्ने गरेको आरोप लगाए ।
नेपाल–भारत सम्बन्ध सन्दर्भमा पोखरेलले सबैथोक बदल्न सकिने तर छिमेकी बदल्न नसकिने भन्दै भारत कुनै समय बेलायतको गुलाम भएको भन्दै नेपाल कुनै देशको गुलाम नभएको बताएका छन् । सर्लाहीसँग जोडिएको नेपाल–भारत सीमा नाका ३–४ दिनभित्रै खुल्ने पोखरेलले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।