काठमाडौं - दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश सरकारको निर्णयलाई लिएर विवाद चर्किरहेका बेला सत्तारूढ नेकपाको सचिवालय नै विभाजित बनेको छ ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड भालुवाङको पक्षमा देखिए पनि नेकपा महासचिव विष्णु पौडेल असन्तुष्ट बनेका छन् । पौडेल रूपन्देही–२ का प्रतिनिधिसभा सदस्य हुन् ।
उनले गत प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा बुटवललाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जायर गरेका थिए । बुटवल पुरानो, व्यापारिक, स्रोत साधन र संरचनायुक्त सहर रहेकाले प्रदेश राजधानीका लागि विकल्पहीन रहेको पौडेलको तर्क रहँदै आएको छ ।
आफ्नो प्रतिबद्धता र चाहनाविपरीत प्रदेश राजधानीबारे निर्णय भएपछि उनले नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डसँग चर्को असन्तुष्टि राखेको नेकपा स्रोतले जनाएको छ ।
यसअघि वागमती प्रदेशको राजधानीबारे नेकपा सचिवालय बैठकमा छलफल भएको थियो । सचिवालयको ग्रिनसिंग्नलकै आधारमा हेटौंडाबारे निर्णय गरिएको थियो । स्रोतका अनुसार, वागमती प्रदेशको राजधानीबारे यसअभि सचिवालयले निकास दिएजस्तै गरी प्रदेश ५ राजधानीबारे पनि पार्टीमा छलफल हुनुपर्ने माग पौडेलले राख्दै आएका छन् ।
‘आफ्नाे जायज मागबारे पार्टीका शीर्ष नेताले छलफल र सरसल्लाह गर्न उत्सुकता नदेखाइ प्रदेश राजधानीबारे निर्णय गरिएकाेमा महासचिव विष्णु पौडेल रुष्ट छन्,’ स्रोतले भन्यो ।
प्रदेश ५ राजधानीबारे जबरजस्त निर्णय गरेर आफ्नो राजनीतिक करिअरमै खेलबाड गरिएको गुनासो पौडेलले निकटस्थसँग राखेकाे बताइएकाे छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता निर्माणदेखि अहिलेको विवाद समाधानसम्ममा मध्यस्थताको भूमिका निर्वाह गर्दै आएका पौडेलले सचिवालय बैठक नबोलाउने सन्देश अध्यक्षद्वयलाई पुर्याएका छन् ।
बैठक डाकिए पनि त्यसमा आफू सहभागी नहुने जानकारी पनि उनले गराएको स्रोतले जनाएको छ । प्रदेश ५ सरकारले राजधानीबारे लिएको निर्णयबाट रुष्ट बनेका पौडेलले सचिवालय बैठक नबोलाउने र बोलाइए पनि सहभागी नहुने सन्देश बालुवाटारमा पुर्याएका छन्,’ स्रोतले भन्यो । प्रदेश ५ को राजधानीलाई लिएर विवाद चर्किएपछि मुख्यमन्त्री शंकर पोखरेलले सक्रिय बनेका छन् ।
शनिबार काठमाडौं आएका उनले अध्यक्षद्वयसँगै केही नेतासँग भेटघाट गरेर दाङको पक्षमा माहोल बनाइदिन आग्रह गरेका छन् । उनको आग्रहपछि नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग दाङको पक्षमा उभिदिन आग्रह गरेको बताइएको छ ।
कांग्रेसले प्रदेश ५ राजधानीबारे प्रदर्शन थालेपछि अध्यक्षद्वयले कांग्रेसको साथ खोजेका हुन् । यद्यपि, कांग्रेसले थालेको प्रदर्शन रोकिएको छैन । आइतबार मात्रै काठमाडौंबाट फर्किंएका प्रदेश ५ का मुख्यमन्त्री पोखरेल प्रदर्शनकारीको निशानामा परेका थिए । साँघु साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।