धादिङबेसी- नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कांग्रेसलाई ठूलो दल बनाउने दायित्व तरुणहरूको काँधमा आएको बताएका छन् ।
नेपाल तरुण दल धादिङले धादिङबेसीमा ‘तरुण आवाज’ नामक किताबको शुक्रबार विमोचन गर्दै अध्यक्ष बस्नेतले तरुणहरूलाई पार्टीको क्रियाशील सदस्यता दिएर बलियो बनाउनुपर्ने बताए । उनले अहिले कायम रहेको क्रियाशील सदस्यतामा पचास प्रतिशत क्रियाशील सदस्यता थप गर्न सकिने बताए ।
‘पार्टीलाई बलियो बनाउन पचास प्रतिशत क्रियाशील सदस्यता बनाएर ल्याउनुछ’, उनले भने, ‘कांग्रेसले मुलुकका सबै परिस्थितिको सामना गर्न सक्छ । हिजोका दिनमा चुनौति र परिस्थितिको सामना गरेर आएको छ ।’
‘कांग्रेसले दुई पटक संविधान बनायो । राणा फाल्यौँ हामीले । राजा फालियो हामीले’, अध्यक्ष बस्नेतले भने, ‘जंगलमा रहेको माओवादीलाई ल्याउने हामीले । शेरबहादुर देउवाको पालामा चुनाव गरेको हामीले हो ।
कम्युनिस्टले नसकेपछि संविधान कांग्रेसकै नेतृत्वमा बनेको हो ।’ उनले भने, ‘कम्युनिस्टले जति नै खोके पनि । जति नै भने पनि नेपाली कांग्रेस, राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्रको लागि हिजो पनि लडेको हो । आज पनि लड्छ । भोलिका दिन पनि लड्छ । न हिजोका दिनमा घुँडा टोक्याैं । न आजको दिनमा कांग्रेसले घुँडा टेक्छ । भोलिका दिनमा पनि घुँडा टेक्ने छैन ।’
‘नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता जीवन आहुती दिन तयार छन्’, उनले भने, ‘हाम्रा पुर्खाहरू यो देशमा लोकतन्त्र र प्रजातन्त्र ल्याउनका लागि वीस–पच्चीस वर्ष जेल जीवन बस्नु भयो । सम्पत्ति सरकारी करण भए । मान्छे काटिए, मान्छे मारिए ।’ ‘राणकालमा मात्रै होइन माओवादी द्वन्द्वकालमा हाम्रा मान्छे नै मारिए’, उनले भने, ‘माओवादीले नेपाली कांग्रेसलाई भन्दा कसरलाई मार्यो त ? कोही पनि मारिएनन् ।’
‘आजका दिनमा विप्लव भन्ने कम्युनिस्टहरू छन् नि उनीहरू भोलिका दिनमा जंगलमा गए भने पनि तपाइ हामीलाई नै हो हान्ने’, उनले भने, ‘उनीहरूले न प्रचण्डको कार्यकर्तालाई हान्छन् न केपी ओलीको कार्यकर्तालाई हान्छन् । कम्युनिस्टसँग एक दिन हामीले लडाइँ लड्नु नै छ ।’ उनले भने, ‘राष्ट्रमा कांग्रेसभन्दा ठूलो प्रजातन्त्र अरु हुन सक्दैन । कम्युनिस्टहरूसँग लडेर देशमा पूर्ण प्रजातन्त्र ल्याउनु छ ।’
‘नेपाली कांग्रेस भनेको सबै जातजाती भाषाभाषीलाई सम्मान गर्ने पार्टी हो’, अध्यक्ष बस्नेतले भने, ‘हिमाल, पहाड, तराईको किन नहोस् सबैलाई एकताका साथ सम्मान गर्ने कांग्रेसले नै हो । कांग्रेसको समाजवादी चिन्तनले नै ती सबै जातजाती भाषालाई एकताबद्ध बनाएको छ ।’
‘म ठोकेर भन्न सक्छु समृद्ध नेपाल बनाउने अभियान कांग्रेसले भन्दा अरु कसैले गर्न सक्दैन’, उनले भने, ‘आजको दिनमा देशलाई समृद्ध गर्ने हो भने नेपाली कांग्रेसले भन्दा अरु कसैले गर्दैन ।’
‘यो देश धनी बनाउने नेपाली कांग्रेस बाहेक कसलै गर्न सक्दैन । सबैलाई धनी बनाउने भनेको नेपाली कांग्रेसले मात्रै हो’, उनले भने, ‘कम्युनिस्टले जति नै ठूलो कुरा गरे पनि ती खोक्रो कुरा हो । खोक्रो नारा हो । भोलिका दिनमा राष्ट्रियताका नारा आउलान् ।’ ‘तीन–चार महिनापछि को राष्ट्रिय व्यक्ति रहेछ ।
कसले अराष्ट्रिय काम गरेको रहेछ’, तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘को कसको एजेन्ट रहेछ भन्ने कुरा तपाईले ३–४ महिनापछि थाहा भइहाल्छ । नेपाली कांग्रेसलाई बलियो बनाउने भनेको महाधिवेशन हो ।’ ‘महाधिवेशनबाट अझै धेरै साथीहरूलाई ल्याएर एकजुट बनाएर, एकताबद्ध भएर हामीले नेपाली कांग्रेसलाई ठूलो बनाउने अभियानमा हामी छौँ’, उनले भने, ‘कांग्रेसलाई बलियो बनाउनेभन्दा अर्को कुनै चिन्तन छैन ।
कम्युनिस्टसँग बौद्धिक र सडकमा लड्न तरुण दल तयार छ ।’ ‘कांग्रेसको विचार, एजेण्डा र धारणा गाउँगाउँमा पुर्याउने र आम जनतासम्म लैजाने नेपाल तरुण दल हो’, उनले भने, ‘कांग्रेसको मेरुदण्ड भनेको नेपाल तरुण दल हो । एउटा काम गर्न बाँकी छ । नेतालाई गाली नगरौँ ।
भोलि त्यो पोस्टमा हामी पुग्ने छौँ । हामीलाई पनि त्यही अवस्था आउन सक्छ ।’ कार्यक्रममा तरुण दलका केन्द्रीय उपाध्गक्ष उत्तम चापगाइँ, पूर्वसांसद रामनाथ अधिकारी, पूर्व सांसद एवम् पूवर्वमन्त्री दिलमान पाख्रिनलगायतकाे सहभागिता रहेकाे थियाे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।