काठमाडौं - विभिन्न मुलुकमा रहेका राजदूतवास, महावाणिज्यदूत र अन्य कुटनैतिक नियोगका प्रमुख र त्यहाँ कार्यरत कर्मचारीहरूले मुलुकको बदनाम हुने गरेर आर्थिक लाभ लिने कार्य गर्नु हुँदैन ।
परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नियोगहरूमा कार्यरत केही कर्मचारी मुलुककै बेइज्जत हुने गरि दलालीमा लिप्त भएको प्रमाण फेला परेका छन् । दलाली गर्नेहरूमध्येका एक हुन् साउदी अरबको जद्दास्थित महावाणिज्य दूतावासमा कार्यरत महावाणिज्यदूत सत्रुधनप्रसाद पोखरेल ।
नेपालको राम्रो श्रम गन्तव्यको रुपमा रहेको साउदी अरबमा कोरोना महामारीपछि रोजगारीका अवसरहरू निकै बढेको छ । पोखरेलले यही मौकामा नेपालका केही म्यानपावर व्यसायीसँग मिलेर एउटा कम्पनीमा आएका मागपत्रलाई रोकेर राख्ने र रोजगारदाता कम्पनीलाई प्रत्यक्ष भेट्ने, फोन गर्ने र त्यो कम्पनीमा हुँदैन मैले भनेको कम्पनीलाई दिएमा सहजरुपले काम गरिदने गरेको स्रोतले जनाएको छ ।
पोखरेलले अन्यथा काम नहुने भनेर रोजगारदातालाई धम्काइ नेपालमा आफूले सेटिङ गरेका म्यानपावरलाई मागपत्र दिइ व्यक्तिगत फाइदा लिइराखेको आरोप छ ।
पोखरेलका कुटनैतिक मर्यादाविपरित र पदीय गरिमा विपरितका कार्यले एकातर्फ राष्ट्रको नै बेइज्जत भइराखेको छभने अर्कोतर्फ स्वच्छ हिसावले व्यवसाय गरेका म्यानपावर व्यवसायी प्रताडित भएका छन् ।
पोखरेलको यस्तो कार्यको केही म्यानपावर व्यवसायीले विरोध गर्दा उनले आफू कांग्रेसको केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलको भाई भएको र मुख्यसचिव शंकरदास बैरागी तथा परराष्ट्र सचिव भरतराज पौडेलको नजिकको भान्छे भएको भनेर धम्काउने गरेको पीडित व्यवसायीहरूको भनाइ छ ।
पोखरेलले आफूलाई कसैले केही भन्न नसक्ने र बरु आफ्नो विरोध गर्ने म्यानपावर कम्पनीको काम नै बन्द गराइदिने धम्की दिने गरेका छन् । पोखरेलले नेपालमा रहेका अक्सफोर्ड, ब्लु मुन र लुलु म्यानपावर कम्पनीसँग सेटिङ मिलाएर अन्य कम्पनीको मागपत्र ती म्यानपावरमा दिलाएर आफ्नो स्वार्थ पूरा गरिराखेका छन् ।
पोखरेलले कुन–कुन कम्पनीका माग पत्र नेपालका ती म्यानवापरलाई दिएका छन् ? त्यसको विस्तृत विवरण क्रमशः समाचारमा प्रकाशित गरिनेछ ।
पोखरेलले साउदी अबरमा नेपाली व्यवसायीमाथि गरेको ज्यादती र हर्कतको भण्डाफोर गर्न केही व्यवसायीहरू प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुग्ने तयारीमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।