काठमाडौं - आइतबार राति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा राखेको स्टाटसले नेपालको राजनीति नै तरंगित पारेको छ ।
धेरै पछि नेपालको राजनीतिमा कुनै एउटा नेताको स्टाटसले यस्तो तरंग सिर्जना गरेको हो । नेता थापाले पार्टीमा आफ्नो सीमा रहेको सम्झेर प्रतिरोध गर्नुपर्ने विषयमा समेत मौन बसेको, तर अब अति भएको लेखेका थिए ।
‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरैपटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ, तर अब त अति भयो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् । थापाको यो स्टाटसलाई लिएर मानिसहरूले आ–आफ्नो अनुमान र धारणा राख्ने क्रम रोकिएको छैन ।
सबैले अनेक अनेक अर्थ लगाएका छन् । कसैले गगनले पार्टीमा विद्रोह गर्न खोजेको अनुमान गरेका छन् । कसैले गगनको काम हल्ला मात्र गर्ने हो, त्यही भएर स्टाटस लेखे भनेका छन् ।
कसैले अब कांग्रेस अहिलेको नेतृत्वबाट अघि बढ्न र सच्चिन सम्भव नभएकाले गगनले विद्रोह गर्न खोजेको बताएका छन् । कसैले कांग्रेसले नौजना मन्त्री पाउँदा गगनले एकजनालाई पनि बनाउन नसकेकाले असन्तुष्टि व्यक्त गरेको भनेर आफ्ना धारणा राख्ने क्रम रोकिएको छैन ।
महामन्त्री थापाले पनि ठ्याक्कै यही विषयमा आफ्नो असन्तुष्टि यो हो भनेर संकेत नगरेकाले पनि धेरै अन्योलमा परेको देखिन्छ । तर, अहिले गगनको आक्रोशको अर्थ सरकारमा पठाएका मन्त्रीको नामबारे हुन सक्ने धेरैको ठम्याइँ छ ।
किनभने पार्टी सभापति शेरबहादुर देउवाले मन्त्री छनोटमा एकलौटी गरेकोमा कुनै दुईमत छैन । डा.शेखर कोइरालालाई गगन थापाको डर र प्रभाव देखाएर उनकै सहमतिमा देउवाले धनराज गुरुङ, डिगबहादुर लिम्बू र सुरेन्द्र आचार्यलाई मन्त्री बनाएको चर्चा छ । कपिलवस्तु २ बाट निर्वाचित सांसद आचार्य राष्ट्रपति रामचन्द्र पौडेलनिकट मानिन्छन् ।
चार दिनअघि भएको मन्त्रिपरिषद् विस्तारकै क्रममा उनको नाम चर्चामा थियो । त्यतिवेला कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन जोडबल गरिरहेका थिए ।
तर, कांग्रेस सभापति देउवा पौडेलको नाममा सहमत भएनन् । किनभने संसदीय दलको नेतामा प्रदीपले आफूलाई भोट नहालेकोमा देउवा रुष्ट थिए ।
कांग्रेस महामन्त्रीद्वय युवा नेता प्रदीप पौडेल र जीवन परियारलाई मन्त्री बनाउन चाहन्थे । कांग्रेसले मन्त्री बनाउँदा समावेशी सिद्धान्तको पालना गरिएको छैन ।
मधेसी, दलितलाई स्थान दिइएको छैन । त्यसले पनि गगनमा आक्रोश उत्पन्न भएको हुनसक्ने बताइन्छ । हिजो स्वर्णिम वाग्लेलाई आमनिर्वाचन र उपनिर्वाचनमा टिकट दिउँ भन्दा गगनलाई नै कर्नरमा पारिएको थियो ।
स्वर्णिम रास्वपा प्रवेश गरेर सांसद जितेर आइसके । त्यसैले पनि अब कांग्रेसमा सुधार गर्नुपर्ने गगनको स्टाटसको अर्थ भएको र यसले धेरै ठूलो प्रभाव पार्ने आकलन गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।