काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर उठ्न थालेकामा खुसी व्यक्त गरेका छन् ।
उनले देशकै राजधानीको फोहोरको समस्या समाधानका निम्ति महानगरपालिका प्रमुख बालेन्द्र साह र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निरन्तरको पहलकदमी प्रशंसनीय रहेको बताएका छन् ।
आइतबार समाजिक सञ्जालमार्फत थापाले आगामी दिनमा काठमाडौंमा फोहोरको संकट पुनः दोहोरिन नदिन तत्काल र तदारुकताका साथ काम गर्नुपर्ने सुझाएका छन् ।
महानगरपालिकाले साउन १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको हुँदा महानगरवासीहरूले साथ दिएर यो अभियानलाई सार्थक बनाउनुपर्ने उनको भनाइ्र छ ।
महानगरापालिकाका सबै वडाहरूले यो अभियानलाई सफल बनाउन असार महिनाभरि आफ्नो वडाभित्र नगरवासीलाई सुसूचित गर्नेलगायतको सम्पूर्ण तयारी गर्नुपर्ने उनले बताएका छन् ।
काठमाडौंका सडकमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न महामन्त्री थापाले सडकदेखि सदनसम्म आफ्ना कुरा राख्दै आएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत फोहोर व्यवस्थापनमा गम्भीर बन्न र पहलकदमी लिन आग्रह गर्दै आएका थिए ।
जसकारण प्रधानमन्त्री देउवाले महानगर प्रमुख बालेन साहलाई बालुवाटार बोलाएर सुझाव दिएका थिए । त्यसको भोलिपल्टैदेखि फोहोर उठ्न थालेको हो ।
यस्ता छन् थापाका सुझाव
काठमाडौंबाट फोहोर उठ्न थालेको छ।यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ।अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ।
१. शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल(बन्चरेडाँडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो। हरेक पटक सङ्कट परे पछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन।त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ।यो स्वभाविक संशयलाई यो पटक सम्झौता अक्षरस र भनेकै समय सिमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ।
२.यसको लागि संघीय सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यस पटक एक ठाँउमा पनि नचुकी भनिएकै समय भित्र गर्न शहरी विकास मन्त्रालय को निरन्तर तदारुकता जरुरी छ।
सम्झौतामा लेखिएका केहि काम शहरी विकास मन्त्रालय भन्दा अन्य मन्त्रालयको क्षेत्राधिकार भित्र पर्छ। ति मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ। खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ। कानुन बमोजिम तोकिए पछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम बिनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ।
३. संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजिकरण समेत गर्न काठमाडौं,धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजिकरण समिति प्रस्तावित गरेका छौं। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहिँ अफ्ट्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ।
४. काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनि निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ। कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले कामपालाई सम्पूर्ण साथ दिनुपर्छ।
५.फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि कामपासँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।