मंगलवार, श्रावण १९ २०७८Aug 03 2021

Logo
images

बिमलेन्द्र निधिले गगनसहित युवा नेतासँग भोट माग्दा शेखर कोइरालाको नाम आएपछि ...

बिमलेन्द्र निधिले गगनसहित युवा नेतासँग भोट माग्दा शेखर कोइरालाको नाम आएपछि ...

  • मिडिया डबली
  • मंगलवार, आषाढ ८ २०७८

  • 10.4K
    SHARES

  • बिमलेन्द्र निधिले गगनसहित युवा नेतासँग भोट माग्दा शेखर कोइरालाको नाम आएपछि ...

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरू भएसँगै उपसभापति बिमलेन्द्र निधिले भेटवार्ता र छलफललाई तीब्रता दिएका छन् ।

    हिजो सोमवार बिहान आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर पार्टीका महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहलाई मध्यबानेश्वरस्थित निवासमा बोलाएर लन्च मिटिङ गरेका निधिले सोमबार साँझ कांग्रेसका ९ युवा नेतालाई भेटेका छन् ।

    images

    काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको साँझको छलफलमा कांग्रेसका युवा नेताहरू डा. चन्द्र भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, धनराज गुरुङ, दिपक गिरी, सरिता प्रसाइँ, बद्री पाण्डे, प्रदीप पौडेल र जीवन परियार सहभागी रहेका थिए ।

    छलफलमा निधिले युवा नेतामाझ आफू आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि अघि बढेकाले सहयोग गर्न आग्रह गरे । छलफलमा सहभागी एक नेताले भने, ‘उपसभापतिज्यूले म सभापतिका लागि अघि बढे । तपाईंहरूको सहयोग गर्नुपर्छ भनेर हामीलाई भन्नुभयो । हामीले पार्टीलाई नयाँ पुस्ता चाहिएको छ, शेरबहादुर दाइ र रामचन्द्र दाइले बिदा लिनुपर्छ भन्यौं ।’

    युवा नेताहरूले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बिदा लिँदै पार्टी संरक्षकका रूपमा बस्नुपर्ने बताएपछि उपसभापति निधि हौसिएका थिए । तर युवा नेताहरूले सभापतिमा डा. शेखर कोइराला समेत देखिएकाले सल्लाह गर्न सुझाव दिएका थिए । छलफलका क्रममा अधिकांश युवा नेताहरूको झुकाव सभापतिमा शेखर कोइरालातिर देखिएको थियो । यसअघि निधिले असार २ गते पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र शनिवार नेता बलबहादुर केसीलाई पनि भेटेर सहयोग मागेका छन् ।

    सभापति देउवासँग भेटेका निधिको छलफल सौहार्द हुन सकेन । सभापति देउवा पक्षकै उपसभापति बिमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी दिने इच्छा देखाएका बेला दुबै नेताबीच देउवानिवास बुढानिलकण्ठमा गत शनिबार छलफल भएको थियो । तर छलफलमा दुबै नेताबीच कडा टक्कर हुने देखिएको थियो ।

    सभापति देउवासँगको भेटमा उपसभापति बिमलेन्द्र निधिले आगामी महाधिवेशनमा सहयोग गर्न आग्रह गरेपनि देउवाले आफैं लड्ने दाबी गरे ।

    सभापति देउवाले निधिलाई आग्रह गर्दै भने, ‘सभापतिमा फेरि उठ्छु । २ नम्बर प्रदेशबाट धेरै महाधिवेशन प्रतिनिधि छान्नका लागि तपाईंले सहयोग गरिदिनुपर्‍यो ।’ जवाफमा निधिले भने, ‘तपाईंलाई सहयोग गर्न सकिँदैन, यसपालि संस्थापन पक्षबाट म उम्मेदवार हुन्छु, मलाई सहयोग गर्नुपर्‍यो ।’ यसरी दुबै नेताबीच बुढानिलकण्ठमा कडा टक्कर भएको थियो ।

    निधिको जवाफ सुनेपछि देउवाले उम्मेदवार बन्ने स्वतन्त्रता सबैलाई रहेको जवाफ फर्काएका थिए । निधिले फेरि भने, ‘विगतमा तपाईंलाई मैले सहयोग गर्दै आएको छु । यसपटक सभापतिमा म उम्मेदवार बन्छु । प्रधानमन्त्री तपाईं बन्नुस् । मैले गर्ने सहयोग गरिरहन्छु ।’

    महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापतिमा दोहोरिन खोजेका देउवाले ७ वटै प्रदेशका आफूनिकटका नेताहरूसँग छलफल गरिरहेका छन् । 

    देउवाले सामूहिक छलफलमा प्रदेशका केन्द्रीय सदस्य र प्रभावशाली नेताहरूसँग आफू अन्तिम पटक सभापतिमा उठ्न लागेको र सभापति बनेपछि पार्टीलाई पुरानै अवस्था पहिलो नम्बरमा फर्काएर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

    देउवाले नेताहरूसँग भने, ‘अन्तिम पटकको लागि सभापतिमा लड्ने हो, पार्टीलाई पुरानै अवस्थामा पुर्‍याएर चुनावमा पहिलो नम्बरको बहुमत दिलाउन लाग्छु ।’

    देउवाले सबैलाई भनेका छन्, ‘तपाईंहरुले विगतमा जसरी सहयोग गर्नुभएको छ, अब पनि सहयोग गर्नुस् । कांग्रेसलाई देशको नम्बर १ पार्टी बनाउने योजनासहित समावेशी टीम बनाएर महाधिवेशनमा जान्छु ।’

    हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गाउँ, नगर वडाको अधिवेशन साउन १२ गते, गाउँपालिका, नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते गर्ने निर्णय गरेको छ ।

    बैठकले प्रदेश अधिवेशन भदौ १ र २ तथा केन्द्रीय अधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका संशोधन गरेर पारित गरेको थियो ।

    आगामी महाधिवेशनमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, महामन्त्री डा. शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतले सभापतिमा उम्मेदवारी दिने चर्चा छ । 

    कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा देउवा, पौडेल, कोइराला कुनै पनि पक्षमा सर्वसम्मत उम्मेदवार देखिएका छैनन् । कांग्रेस नेपालको पुरानो प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसको नयाँ नेतृत्वमा सबैको चासो रहने गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७१०:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology