काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय गतिविधि गर्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगन थापाले ‘एक तीर दुई शिकार’ गरेका छन् ।
सोमवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले राजनीति गर्ने भए काठमाडौंमा आफूसँगै चुनाव लड्न राष्ट्रपति भण्डारीलाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीको कुर्सी जोगाउन भण्डारीले नेकपाभित्र चलखेल गरेको आरोप लाग्ने गरेको छ ।
नेता थापाले राष्ट्रपतिले शीतल निवासमा बसेर आफ्नो गरिमा बिर्सिएकाले आफूसँग चुनाव लड्न चुनौती दिए । ‘म मदन भण्डारीको शब्द सापटी लिएर भन्छु – महारानी शितल निवासबाट आँखा नझिम्क्याइबक्सियोस्, काठमाडौंमा मसँग चुनाव लड्न तयार होइबक्स्योस्,’ उनले भने ।
राष्ट्रपतिले आफ्नो गरिमा बिर्सिएर नेकपाको गुटको झगडा मिलाउने मध्यस्तकर्ताको भूमिका निभाइरहेको आरोप उनले लगाए । वर्तमान सरकारलाई पटक–पटक सच्चिन सुझाव दिए पनि नसच्चिएकाले बाध्य भएर सडकमा आउनुपरेको उनले बताए । उनले भने, ‘अहिलेको परिस्थितमा सडकमा आउनुपर्दा दुःख लागेको छ, अब सरकारलाई ठेगानमा नल्याउँदासम्म सडक छोड्दैनौं ।’
नेकपा भन्ने पार्टी नभएर लोभीपापीको मञ्च भएको थापाले बताए । उनले भने, ‘केपी ओली लोभी र प्रचण्ड पापी हुन् ।’
नेता थापाले वर्तमान सरकार भ्रष्टहरूको संरक्षक रहेको बताए । विभिन्न नाममा गरिएका भ्रष्टाचारहरूलाई लुकाउने वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले अख्तियारभन्दा पहिले आफूले फैसला गरी आफ्ना मान्छेको संरक्षण गर्ने गरेको थापाले बताए ।
‘प्रधानमन्त्रीजी तपाईं नाङ्गै सडकमा हिँड्दै हुनुहुन्छ’ भनेर भन्दा नपत्याएका प्रधानमन्त्रीलाई अहिले नाङ्गै हिँडिरहेको प्रचण्ड र माधव नेपालले पुष्टि गरेको थापाले बताए । उनले भने, ‘तर प्रचण्ड र माधव नेपालले पनि २ वर्षसम्म प्रधानमन्त्रीलाई नाङ्गै हिँडेको नदेखेको र आफू अर्धनग्न भए अनि मात्र नाङ्गै देखे ।’
हिन्दूराष्ट्र र राजसंस्थाका पक्षमा पछिल्लो समय देशभर भइरहेको प्रर्दशनलाई लक्षित गर्दै थापाले युवाहरूलाई भने, ‘राजाका पक्षमा सडकमा निस्कनु युवाको अधिकार हो तर पञ्चायतकालमा मूर्ति बेचेर खाने मण्डलेले धर्म बचाउन सक्छन् भनेर विश्वास नगर्नुहोस् ।’
उनले अहिले दलहरूले गरिरहेका गल्तीको खबरदारी गरी सच्याउन लगाउनुपर्ने तर राजा आउ भनेर पछि नलाग्न युवाहरूलाई आग्रह गरे । धनगढीको चौराहबाट शुरू भएको विरोध र्यालीमा गाउँगाउँबाट सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
र्यालीपछि आयोजित सभामा गगन थापासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रामजनम चौधरी र धनगढी उपमहानगरपालिकाकी उपमेयर एवं महिला संघकी नेता शुशीला मिश्र भट्टले सम्बोधन गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।