काठमाडौं – निर्वाचन आयोगले नेता माधवकुमार नेपाल र महन्थ ठाकुरको दल आज बुधवार दर्ता गर्ने तयारी गरेको छ ।
नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले बुधवार नै दर्ता गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधवार नै पुर्याउने र दल दर्ताको निर्णय गर्ने भएको छ ।
‘आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको छ, बुधवार सनाखत सक्छौंं र दर्ताको निर्णय पनि बुधवार नै गर्छौं,’ आयोग उच्च स्रोतले मंगलवार भन्यो ।
आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरुलाई बुधवार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको छ । आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानूनी व्यवस्थाअनुसार दुबै दलका तर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको बताएका छन् ।
नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कूल २०३ संख्या मध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल पक्षले आयोगमा पुर्याउनुपर्ने हुन्छ ।
नयाँ थपसहित नेपालले नेतृत्व गर्ने दलमा ११५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर रहेको छ । आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ । ठाकुर अध्यक्ष रहने गरी लोसपामा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव गरिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको संशोधनअनुसार निर्वाचन आयोगले गत बिहीवार नियमावली संशोधन गरिसकेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।