काठमाडौं - केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मौन छन् । केही दिनअघिसम्म दैनिक रूपमा सार्वजनिक कार्यक्रममा देखिने र सुनिने नेपाल यतिबेला भने त्यति खुलेका छैनन् ।
एकीकृत समाजवादीका अर्का नेता झलनाथ खनाल सक्रिय हुन थालेपछि माधव मौन भएका हुन् । खासगरी झलनाथ अहिले सत्तारुढ गठबन्धन भाँड्न उद्यत देखिएका छन् ।
आफू निकट नेतालाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा बाधक भएको भन्दै झलनाथले गठबन्धन भाँड्न भित्रभित्रै एमाले नेताहरूसँग सम्पर्क बढाएपछि माधव नेपाल निष्क्रिय जस्तै भएका हुन् ।
स्थानीय तहको निर्वाचनको परिणाम आएलगत्तै एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ व्यक्तिको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।
तर, बजेट पास नहुँदासम्म मन्त्री हेरफेर नगर्न भन्दै प्रधानमन्त्री देउवाले आग्रह गरेपछि सो निर्णय पेन्डिङमा रहँदै आएको छ । बुधबार बसेको एकीकृत समाजवादी पोलिटब्युरो बैठकले आफ्नो पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरेर अपमान गरेको ठहर गरेको थियो ।
यदि आफ्नो पार्टीले गरेका निर्णय कार्यान्वयन नभए गठबन्धन कायमै राख्नुपर्छ भन्ने नरहेको झलनाथ खनालले बताएका थिए । एकीकृत समाजवादीको बैठकलगत्तै झलनाथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
उनी सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका थिए । त्यहाँ पनि आफ्नो पार्टीको मन्त्रीहरू हेरफेर गर्न उनले प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए । पछिल्लो समय झलनाथको सक्रियता हेर्दा उनी पार्टी अध्यक्ष बन्न लागिपरेको जस्तो देखिन्छ ।
पार्टीमा आफ्नो प्रभाव बढाएर अहिलेको गठबन्धन तोडेर चुनाव नजिक एमालेसँग मिल्ने झलनाथको रणनीति रहेको स्रोतले बताएको छ । त्यही भएर अहिले उनले एमाले अध्यक्ष केपी ओलीका विशेष दूतसँग नियमित डल्लुस्थित निवासमा भेटवार्ता गरिरहेको उच्च स्रोतले जनाएको छ ।
एमाले अध्यक्ष केपी ओली पनि माओवादी केन्द्रसँग गठबन्धन नभए एकीकृत समाजवादीलाई आफूसँगै राख्ने मनस्थितिमा पुगिसकेका छन् । त्यही भएर अहिले माधव नेपाल पनि एमालेप्रति आक्रामक होइन, नरम बन्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।