राखेप पूर्व कोषाध्यक्षको प्रश्न : साग पदक विजेतालाई ३ महिनासम्म पुरस्कार किन दिइएन ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, फाल्गुन २३, २०७६

नेपाटप

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व कोषाध्यक्ष तथा कराँते पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रमा व्यापक राजनीतिकरण भएका कारण खेल क्षेत्रमा लाग्ने खेलाडीको भविष्य अन्धकार रहेको बताएका छन् ।

‘खेलकुदमा व्यापक राजनीतिकरण भएको छ, राष्ट्रिय संघहरूमा पनि विवादै विवाद छ,’ उनले भने ।

नेपाल लाइफ

गोदावरी नगरपालिका–६ स्थित टीकाभैरवमा सञ्चालन भएको दोस्रो मेयर कप राष्ट्रिय शो क्योकुसिन कराँते प्रतियोगितामा बोल्दै महर्जनले नेपालको खेलकुदको पहिचान भनेकै मार्सल आर्ट रहेको बताए ।

‘खेल क्षेत्रमा विवाद रहेको प्रमाण १३ औं साग हो । हरेक मार्सल आर्टमा विवाद छ । एउटा संघमा कतिजना अध्यक्ष छन्, लेखाजोखा छैन,’ उनले भने, ‘हरेकले म अध्यक्ष हो भनेर काम गरिरहेका छन् ।’

कराँतेमा विवाद, तेक्वान्दोमा विवाद, उसुमा विवाद, बक्सिङसहित अरु राष्ट्रिय संघमा पनि त्यतिकै विवाद रहेको महर्जनले बताए । सरकारले घोषणा गरेको १३ औं साग पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कार घोषणा गरेको ३ महिना बितिसक्दा पनि पुरस्कार नपाउँदा खेलाडीमा निराशा छाएको महर्जनले बताए ।

सरकारले खेलाडी र खेलकुदको महत्त्व नबुझेको समेत बताए । महर्जन भन्छन्, ‘देशको पहिचान गराउने भनेकै खेलकुदबाटै हो । त्यसैले खेलकुदलाई प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्छु ।’

कार्यक्रममा महर्जनले गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनको प्रशंसा समेत गरे । महर्जन भन्छन्, ‘नेपालमा ७५३ स्थानीय निकाय छ, त्यसमध्ये प्रत्येक महिना यस्ता खेलकुद प्रतियोगिता गरेर तमाम खेलाडी खेलप्रेमीहरू र युवाहरूको मन जित्न सफल हुनुभएकोमा मेयर गजेन्द्रलाई खेलाडीहरूको तर्फबाट धन्यवाद समेत व्यक्त गर्छु,’ उनले भने ।