बुद्ध जन्मेको क्षेत्रको मेलमिलाप अनुकरणीय छ : कांग्रेस सहमहामन्त्री महत

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, कार्तिक २२, २०७६

नेपाटप

केरला (भारत) – नेपाली कांग्रेसका सहमहामन्त्री डांर प्रकाश शरण महतले दक्षिण एसियाका विभिन्न मुलुकहरूमा आपसी समझदारी, भाइचारा, समानता र सहिष्णुता बढाएर दक्षिण एसियामा भएका देश र जनता बीचको दूरीलाई कम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार भारतको केरलामा सुरू भएको साफको २९ औं सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले एकअर्काको धर्म संस्कृति र रीतिरिवाजलाई सम्मान गर्दै फरक समुदायका बीचमा पनि समानता खोज्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल लाइफ

कार्यक्रमको प्रमुख अतिथि रहेका सहमहामन्त्री महतले गौतम बुद्धको जन्म भएको देशमा हिन्दू, बौद्ध, इसाई, मुस्लिम लगायतका विभिन्न धर्महरू बीचको सहिष्णुता अनुकरणीय रहेको बताएका छन् ।

सहमहामन्त्री महतले यस्तो खालको भ्रातृत्व र सद्भाव विश्वभर फैलिन जरुरी रहेको बताए । ‘एउटा समुदायले अर्को समुदायलाई र एउटा धर्मले अर्को धर्मलाई सम्मान गरेर मात्रै विश्वमा शान्ति प्राप्त हुन्छ,’ उनले भने ।

साफको सम्मेलनको अध्यक्षता भारतका प्रसिद्ध चिन्तक सत्य पालले गरेका थिए भने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान लगायतका मुलुकबाट भाग लिन १ सय ५० जना प्रतिनिधि भारतको केरला पुगेका छन् ।