गणेशमानको स्मृतिमा किक बक्सिङ प्रतियोगिता हुँदै

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, कार्तिक २०, २०७६

नेपाटप

ललितपुर – जिल्लाको गोदावरी नगरपालिका चापागाउँको प्याङगाउँ चौरमा तेस्रो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन प्रतियोगिता संयोजक रहेका छन् ।

नेपाल लाइफ

किक बक्सिङ पूर्व राष्ट्रिय च्याम्पियन ललितपुर किक बक्सिङ संघ अध्यक्ष विनोद महर्जनले पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कार दिइने जानकारी दिएका छन् ।

महर्जनका अनुसार प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीलाई जनही ३० हजार, द्वितीय हुने खेलाडीलाई २० हजार र तृतीय हुने २ जना खेलाडीहरूलाई १०–१० हजार, बेस्ट खेलाडी पुरुष एक जनालाई २५ हजार, महिला बेस्ट खेलाडी एक जनालाई २५ हजार दिइने छ ।

प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक ल्याएर च्याम्पियन हुने टीमलाई १ लाख दिइने प्रतियोगिता अध्यक्ष महर्जनले बताए । महर्जनका अनुसार प्रतियोगिताको प्रारम्भिक तयारी सुरू भइसकेको छ । प्रतियोगिता मंसिर १९, २० र २१ गते गरी ३ दिन चल्ने छ ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । प्रतियोगिताको समापन नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने प्रतियोगिता संयोजक मीनकृष्णले बताए ।

विगत दुई वर्षदेखि चापागाउँमा किक बक्सिङ प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराँते, ताईक्वाण्डो, उसु, बक्सिङ फुल कन्त्याक्ट कराँते, उपत्यका भित्रका विभिन्न क्लबको सहभागिता हुनेछ ।

प्रतियोगितामा सम्पूर्ण खेलाडीहरूलाई खानपानको व्यवस्था हुने गरेको छ । प्रतियोगिता सकिएलगत्तै साँझ ६ बजेदेखि कबवेब बाण्ड जेनिथ बाण्ड र कुतुम्बा व्याण्डको लाइभ शो हुनेछ ।