क्यानडा लिगमा सन्दीपको उत्कृष्ट बलिङ, सोमपालको टिमलाई सफलता

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, साउन २४, २०७६

नेपाटप

काठमाडौं– ग्लोबल टी–ट्वीन्टी क्यानडा लिग क्रिकेटमा नेपालका बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामीको टिमको प्रतिस्पर्धामा सोमपालको टिमले बाजी मारेको छ ।

बिहीबार भएको इलिमिनेटर खेलमा सन्दीप आवद्ध टोरोन्टो नेशनलमा र सोमपाल आवद्ध विनिपेग हक्स बीचको प्रतिस्पर्धामा विनिपेग हक्सले डीएल नियमका आधारमा २ रनको जित निकालेको हो । इलिमिनेटर खेलमा जितसँगै विनिपेग हक्स क्यालिफायरका लागि छानिएको छ भने सन्दीपको टोली टोरोन्टो नेशनल प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल लाइफ

यस खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । सोमपाल भने प्लेइङ ११ मा समेटिएनन् । ४ ओभर बलिङ गरेका सन्दीपले ३४ रन दिएर २ विकेट लिए । यस खेलमा सन्दीपले टोलीका लागि सबैभन्दा सस्तो बलिङ गरे । पहिलो बलमा नै विकेट लिन सफल भएका थिए । तेस्रो ओभरमा बलिङमा आएका सन्दीपले पहिलो बलमा नै पाकिस्तानी खेलाडी उमर अकमललाई स्टम्पिङ आउट गराएका थिए । त्यसपछि उनले १३औं ओभरमा २९ बलमा ३६ रन बनाएर खेलिरहेका भारतीय खेलाडी सन्नी सोहललाई क्याच आउट गराए ।

विनिपेगले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको टोरोन्टोले २० ओभरमा २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्य पछ्याएको विनिपेगले १७।१ ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको अवस्थामा मौषस खराब भएपछि खेल रोकिएको थियो । डकवर्थ एण्ड लुइस नियमका आधारमा निर्णय गर्दा २ रनले नतिजा विनिपेग हक्सको पक्षमा गयो ।

क्यानडा लिगको यस सिजन ४ खेल खेल्न पाएका सन्दीपले ५ विकेट लिए । पहिलो खेलमा सन्दीपले ४ ओभरमा ४४ रन १ विकेट लिएका थिए । त्यसैगरी दोस्रो खेलमा ४ ओभरमा २८ रन १ विकेट र तेस्रो खेलमा ३ ओभरमा २५ रन दिएर १ विकेट लित सफल भएका थिए ।

सोमपाल कामीले भने हालसम्म एक खेलमा मात्रै मौका पाएका छन् उनको टोलीले अब कम्तिमा एक खेल खेल्न बाँकी छ । एक खेलमा मौका पाएका सोमपालले २ ओभरमा ३३ रन दिएका थिए । ब्याटिङमा १ रन बनाउन सके ।