कोरोनाबारे नेता खतिवडाले राखे ओली सरकारसँग माग, जनतालाई विशेष सुविधा दिइयोस् !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र १२, २०७६

नेपाटप

काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले केपी शर्मा ओली नेतृत्वको सरकारले एक ठाउँमा मात्रै कोरोना भाइरसको परीक्षण गर्दा जनतालाई असुविधा भएको भन्दै संक्रमणको परीक्षण तत्कालका लागि कम्तिमा पनि ७ वटै प्रदेशमा गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

बुधबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै खतिवडाले सरकारले कोरोना भाइरसको संक्रमण रोक्न गरेका उपायहरूको सराहना गर्दै सुधारका लागि सुझाव दिए ।

नेपाल लाइफ

नेता खतिवडाले तत्कालका लागि ७ वटै प्रदेशमा नमूना परीक्षणको व्यवस्था गरेर अर्को चरणमा छिटोभन्दा छिटो सबै जिल्लामा नै कोरोनाको परीक्षणको व्यवस्था मिलाउनुपर्ने माग गरे ।

नेता खतिवडाले सबै ७७ वटै जिल्लामा कोरोनाको नमूना परीक्षणको व्यवस्था गर्न सुझाव दिएका छन् । ‘सरकारले कोरोना भाइरस संक्रमण रोक्न अहिलेसम्म गरेको तयारी र निर्णयहरू ठीक छन्,’ उनले भने, ‘कोरोनाको संक्रमणको परीक्षण गर्न नमूना लिएर काठमाडौं आउनुपर्ने व्यवस्थाको अन्त्य होस् ।’

नेपाली कांग्रेसका नेता खतिवडाले हालसम्म सरकारले कोरोना भाइरसविरुद्धका औषधी, परीक्षण गर्ने किट, स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सुरक्षासम्बन्धी सामानहरु व्यवस्था गर्न नसकेको भन्दै आलोचना समेत गरेका छन् । उनले दिनदिनै निर्णय भएका समाचार जनताले हेर्न र सुन्न पाएपनि जिल्लामा नै परीक्षण गर्ने व्यवस्थामा गर्न नसकेकोमा असन्तुष्टि जनाएका छन् ।

‘आवश्यक सामान छैन भने छिटो खरिद गर्नुपर्छ,’ उनले भने, ‘कुनै देशले पठाइदेला भनेर कुरेर बस्ने होइन । छिनोभन्दा छिटो सामान खरिद गर्नुपर्छ ।’

भारतबाट आएका नेपाली गाउँमा गइसकेको भन्दै खतिवडाले भने, ‘गाउँमा कुनै व्यक्ति बिरामी भयो भने लकडाउनका कारण अस्पतालसम्म आउन कठिनाइ हुने अवस्था छ । त्यो विषयलाई पनि ध्यान दिनुपर्ने देखियो ।’

नेता खतिवडाले दैनिक ज्यालादारी गरेर साँझबिहानको जोहो गर्ने निम्न वर्गका मजदुर परिवारलाई राहतको व्यवस्था गर्न समेत माग गरेका छन् ।