प्रचण्ड र बामदेवलाई रामहरि खतिवडाले दिए दनक : ‘तपाईंका सन्तानले पनि पत्याउन गाह्रो छ’

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, फाल्गुन १, २०७६

नेपाटप

काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमलाई दनक दिएका छन् ।

नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा उपाध्यक्ष गौतमकै सामुन्ने अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता खतिवडाले सस्ता कुरा बोल्दा तपाईकै सन्तानले पत्याउन गाह्रो हुने भनेर प्रतिक्रिया दिएका छन् ।

नेपाल लाइफ

प्रचण्डले आफू जनयुद्धमा रहेका बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ठूलाठूला आक्रमण गर्न र सदरमुकाममा हान्न भन्ने गरेको अभिव्यक्ति दिएर विवाद सिर्जना गरेका छन् । देशमा शान्ति प्रक्रिया थाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका स्व. गिरिजाबाबुको बदनाम हुने गरी प्रचण्डले अभिव्यक्ति दिएपछि कांग्रेसले समेत आपत्ति जनाएको छ ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता खतिवडाले प्रचण्डको जिब्रोमा ब्रेक नभएको समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘क प्रचण्ड हजुरको जिब्रोमा ब्रेक छैन, हामीलाई थाहा छ तर यस्ता सस्ता कुरा बोल्दा तपाईंका सन्तानले पनि पत्याउन गाह्रो छ, अब बारम्बार यस्तै कुरामा मात्र नेपाली जनतालाई झुक्याउने चेष्ठा नगर्दा हजुरलाई नै भलो होला कि कसो बामदेव जी ?’