प्रचण्डले गिरिजाबाबुलाई बदनाम गर्न खोजेपछि कांग्रेस आक्रोशित, थुतुनो सम्हाल्न चेतावनी

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, फाल्गुन १, २०७६

नेपाटप

काठमाडौं – नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले जंगलबाट ल्याएर काठमाडौंमा स्थापित गरेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आएर गिरिजाबाबुलाई नै बदनाम गर्ने अभिव्यक्ति दिएपछि कांग्रेस आक्रोशित बनेको छ ।

कांग्रेस पार्टीले स्व. गिरिजाबाबुबारे प्रचण्डले दिएको विवादास्पद अभिव्यक्तिप्रति गम्भीर ढंगले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल लाइफ

प्रचण्डले गिरिजाबाबुलाई विवादित बनाउने गरी अभिव्यक्ति दिएको भन्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेका छन् ।

‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साञ्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छँदै नै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । उहाँको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद् छ ।’

कांग्रेस र गिरिजाबाबुबारे जथाभावी बोल्दै हिँडेका प्रचण्डलाई कांग्रेसले थुतुनो सम्हाल्न चेतावनी समेत दिएको छ ।

‘ऐतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नुभएको थियो । हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नु आफैंमा विरोधाभासपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दाहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि पनि सजग गराउँछु ।’

प्रचण्डले जनयुद्ध दिवसका अवसरमा पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बिहीवार बिहान आयोजित कार्यक्रममा नेपाली कांग्रेस र तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको चरित्रमा दाग लाग्ने गरेर जथाभावी बोलेका थिए ।