कृष्णबहादुर महराको मुद्दामा रोशनी शाहीको यस्तो बयान, अन्तिम सुनुवाइ हुँदै

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, माघ २७, २०७६

नेपाटप

काठमाडौं – संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि दुर्व्यवहार गरेको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको छ ।

अभियोगसँग सम्बन्धित प्रमाण संकलनको कार्य सकिएसँगै काठमाडौं जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको छ । आईतबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरिसकेका छन् ।

नेपाल लाइफ

जिल्ला सरकारी वकिल कार्यालयका अुनसार चन्द्रकान्त खनाल, उमाकान्त पौडेलसहित थप २ जना महिला जिल्ला न्यायाधीवक्ताहरूले पीडितको तर्फबाट बहस गरेका छन् । अब महराका तर्फबाट सोमवार बहस हुने भएको छ ।

महराका तर्फबाट बहस सकिएपछि उनीविरुद्ध लागेको अभियोग पुष्टि हुने वा नहुने निर्णय अदालतले सुनाउने भएको छ । उनीविरुद्ध जबरजस्तीकरणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसूरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको छ ।

तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको हो । गत असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर महराले जबरजस्तीकरणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएपछि पक्राउ परेका थिए ।

पीडित भनिएकी शाहीले बानेश्वरस्थित प्रहरी वृत्तमा जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते सभामुख निवासबाट पक्राउ गरेको थियो । महरा हाल काठमाडौंको डिल्लीबजार कारागारमा थुनामा छन् ।

जिल्ला अदालतको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि जिल्लाकै आदेश सदर गरेको थियो । जिल्ला अदालत समक्ष पीडितको हैसियतमा बकपत्र गर्ने क्रममा रोशनी शाहीले आफूविरुद्ध महराले जबरजस्तीकरण प्रयास नगरेको दाबी गरेकी छन् । शाहीको अन्तिम बयानमा समेत दुर्व्यवहार नगरेको भनाइ आएपछि मुद्दालाई कमजोर बनाएको चर्चा सुरू भएको छ ।

सुरूमा महानगरीय प्रहरी वृत्त कोटेश्वरमा महराले तीनकुनेस्थित आफ्नो कोठामै आएर जबरजस्तीकरणी प्रयास गरेको जाहेरी दिएकी उनले त्यसपछि बोली फेर्दै आएकी छन् । उनले महरालाई बचाउन प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी छन् ।