चुनाव हारेपछि नैतिकताका आधारमा कांग्रेस सभापतिको राजीनामा

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

काठमाडौं – गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा पार्टीका उम्मेदवार पराजित भएपछि कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ की कांग्रेस सभापति उमाकुमारी ठकुरीले पदबाट राजीनामा दिएकी छन् ।

उनी सभापति रहेको वडाबाट कांग्रेसलाई कम भोट आएका कारण नैतिकताका आधारमा राजीनामा दिएको ठकुरीले जनाएकी छन् ।

नेपाल लाइफ

पोखराको वडा नम्बर ९ मा नेकपाले कांग्रेस उम्मेदवारभन्दा साढे ४ सय मत बढी पाएका थिए । कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाकी विद्या भट्टराई जितेकी छन् भने कांग्रेस उम्मेदवार खेमराज पौडेल पराजित भएका छन् ।

पोखरा महानगरका ११ वटा वडा समेटेको निर्वाचन क्षेत्र नम्बर २ मा पोखराको वडा नम्बर ९ कांग्रेसको गढ मानिन्थ्यो ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको वडामा कम भोट आएपछि सभापति ठकुरीले नैतिकताका आधारमा राजीनामा दिएकी छन् । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पौडेललाई १ हजार १ सय ३७ आउँदा नेकपा उम्मेदवार भट्टराईलाई १ हजार ५ सय ७ मत आएको छ ।

सभापति ठकुरीले नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर २ उपनिर्वाचन परिचालन समिति संयोजक वीरेन्द्रनारायण बिजुक्छेसामु राजीनामापत्र बुझाएकी छन् ।

राजीनामा पत्रमा उनले लेखेकी छन्, ‘जुन भरोसा र विश्वासका साथ पोखरा–९ का क्रियाशील सदस्य, नेता, मेरा अग्रजले विश्वास गरेर वडा सभापतिको जिम्मेवारी प्रदान गर्नुभएको थियो । मलाई लाग्छ पछिल्लो विषम परिस्थितिमा समय परिस्थिति अनुरुप उत्रिन सकिन कि !’

वडामा साख बचाउन नसक्नुमा आफ्नो पनि जिम्मेवारी रहेको महसुस गर्दै आत्मालोचनासहित उनले राजीनामा दिएकी छन् ।

निर्वाचनमा पार्टी पराजित भएपछि अरुलाई दोष दिने प्रवृत्तिलाई चिर्दै सभापति ठकुरीले हारको जिम्मेवारी लिँदै आत्मालोचनासहित राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेकी छन् ।