प्रमुख प्रतिपक्ष हराएको सूचना !

मिडिया डबली प्रकाशित : शुक्रबार, माघ १०, २०७६

नेपाटप

काठमाडौं – देशमा झण्डै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार छ, जसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् । उन्नत लोकतान्त्रिक शासन व्यवस्थामा सत्तापक्ष सँगसँगै प्रतिपक्षको समेत उत्तिकै महत्व हुन्छ ।

संसदभित्र प्रमुख प्रतिपक्षको स्थानमा नेपाली कांग्रेस रहेको छ । तर पछिल्ला केही गतिविधिका कारण कांग्रेस सत्तापक्ष अर्थात् ‘नेकपाको भाइ’ जस्तै देखिएको चर्चा सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा हुन थालेको छ ।

नेपाल लाइफ

गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कांग्रेसको अवस्था सुधार भएको देखिएको थियो । कम्युनिस्टका गढ मानिने भक्तपुरको प्रदेशसभा र धरानको स्थानीय तह निर्वाचनमा कांग्रेसको जीत ऐतिहासिक थियो । प्रचण्डको गृहजिल्ला चितवनका कतिपय वडामा समेत कांग्रेसले जित्दा देशभरका कांग्रेसीजनमा हौसला बढेको थियो ।

माघ ९ गते बिहीबार राष्ट्रियसभा सदस्य निर्वाचन भएको छ । १८ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले निल भएको छ, एउटा सिट पनि जित्न सकेन । प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेकपाको जीत सुनिश्चित थियो । प्रदेश २ मा केही मत तलमाथि गर्न सकेको भए कांग्रेस नेतृत्वमा बनेको समाजवादी पार्टीसँगको गठबन्धनका उम्मेदवारले जित्न सक्ने सम्भावना भएपनि कांग्रेसको केही चलेन ।

कांग्रेसले निर्वाचनमै पराजय भोगिरहँदा राजनीतिक वृत्त र सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी दलको पहिचान कायमै राख्नुपर्ने कांग्रेस सत्तापक्षसँग अत्यन्तै निकट भएको भन्दै आलोचना भइरहेको छ । एक हिसाबले नेपाली लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दलको खोजी भइरहेको छ । जनताका तर्फबाट महत्वपूर्ण सन्देशमूलक सूचना जारी भइरहेको छ, प्रमुख प्रतिपक्ष हराएको सूचना !

देशमा प्रतिपक्षको खोजी अनायासै भइरहेको छैन । कांग्रेसको निकटता सत्तापक्ष नेकपासँग धेरै बढेका घटनाक्रम सार्वजनिक भएका छन् । यतिसम्म कि सरकारले नियुक्त गर्ने आयोगका पदाधिकारीमा कांग्रेस निकट व्यक्ति सिफारिस भएका छन्, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेशदत्त भट्ट कांग्रेसकै भागबण्डाबाट नियुक्त भएका कसैसामु लुकेको छैन ।

राजनीतिक सहमतिपछि प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।

प्रधानमन्त्री ओलीले मात्रै कांग्रेसलाई फाइदा पुर्याएका छैनन्, कांग्रेसले पनि सभामुख पदमा नेकपाका उम्मेदवार अग्नि सापकोटालाई निर्विरोध गराइदिएको छ ।

कांग्रेसले उपसभामुख पद आफू पाउन नेकपासँग छलफल गरिरहेको समेत चर्चा चलेको छ । यी घटनाक्रमले नेकपा–कांग्रेस अत्यन्तै निकट रहेका चर्चा चलिरहेका छन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई संसदबाट पारित गराउने सन्दर्भमा समेत ओली सरकार र कांग्रेस एकैठाउँमा देखिएका छन् ।

प्रतिपक्षी आवाज कडा रुपमा कहिलेकाहीँ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्विटरमा उठाउँछन् । तर उनको आवाज पनि प्रभावकारी देखिएको छैन ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिकाको हैसियतमा नेपाली कांग्रेस रहेको छ । तर कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको गुनासो पहिल्यैदेखि सुनिँदै आएको हो । पछिल्लो समय नेकपा–कांग्रेस अनपेक्षित साँठगाँठले सर्वसाधारणमा प्रतिपक्षप्रतिको आस्था झनै गुमेको छ ।

कम्युनिस्ट शासनमा देशमा ठूल्ठूला काण्ड भए । ती सबै काण्डमा प्रतिपक्षले भूमिका खेल्न नसकेको गुनासो सुनिने गरेका छन् । वाइडबडी जहाज खरिदमा भएको अनियमितताले सडकदेखि संसदसम्म सरकारको आलोचना भयो । दुई वटा विमान खरिद गर्दा अर्बाै अनियमितता भएको घटना सार्वजनिक भएपछि हालसम्मकै सबैभन्दा ठूलो घोटाला भनेर चर्चा भयो ।

आरोप पुष्टि हुने थुप्रै आधार हुँदा समेत कांग्रेसले यो प्रकरणमा सरकारलाई घेर्न सकेन । सरकारले छानबिनका लागि गठन गरेको भनेको समितिलाई नियुक्त समेत दिएन । कांग्रेस सभापति शेरबहादुर देउवाको नाम समेत वाइडबडीमा जोडेर सत्तापक्ष विरोधका स्वर मत्थर गर्न सफल भयो, प्रतिपक्षले प्रभावकारी काम देखाउन सकेन ।

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा समेत नागरिकस्तरबाट सरकारको आलोचना भयो । सरकारका प्रधानमन्त्री र गृहमन्त्रीका अभिव्यक्ति पटक–पटक आलोचित भए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला प्रकरणमा समेत न्यायका लागि दबाब दिन सकेन । हत्याकाण्ड भएको डेढ वर्षसम्म पनि अझै अपराधी पत्ता लागेका छैनन् । कांग्रेसले निर्मला प्रकरण बिर्सिसकेको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको घटनामा नेकपाका महासचिव विष्णु पौडेल समेत मुछिए । सामाजिक सञ्जालमा व्यापक विरोध भयो । तर कांग्रेसले सशक्त विरोध जनाउन सकेन ।

उल्टै सरकारले छानबिनका नाममा कांग्रेसका नेतालाई समेत मुछ्ने देखेपछि कांग्रेस चुपचाप देखियो । अहिले बालुवाटार जग्गा प्रकरणमा मुछिएका कम्युनिस्ट नेतालाई उन्मुक्ति दिने देखिएको छ । महासचिव विष्णु पौडेलको संलग्नताबारे चर्चा हुन समेत छाडेको छ ।

गत महिना सर्लाहीका उखु किसान वर्षाैदेखिको भुक्तानी माग गर्दै काठमाडौं आए । सरकारविरुद्ध गरीब किसान माइतीघर मण्डलामा सडकमा आउँदा प्रतिपक्षी कांग्रेस कहिल्यै देखिएन ।

माघ पहिलो हप्ताभित्र भुक्तानी दिलाउने गरी उद्योगमन्त्री लेखराज भट्टले किसानसँग सम्झौता गरे । तर सम्झौता अनुसार किसानले भुक्तानी पाएनन् । किसानका पक्षमा सरकारमाथि खबरदारी गर्नुपर्ने कांग्रेसको अत्तोपत्तो छैन ।

सरकारी स्वामित्वको आयल निगमदेखि बजारमा खाद्यवस्तु, तरकारी र फलफूलको मूल्य आकाशिएको छ । सरकारले बजारमाथि अनुगमन र निगरानी गर्न सकेको छैन । प्रतिपक्षले खबरदारी गर्न सकेको छैन । जनतामाथि व्यापारीले खुलेआम लुट मच्चाइरहेका छन् । त्यही भएर जनताले देशमा प्रमुख प्रतिपक्ष दल खोजिरहेका छन् ।

प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेस आफ्नै पार्टीभित्रको विवादमा रुमल्लिएको छ । महाधिवेशनको मिति र विभिन्न विभागको भागबण्डाको किचलोमा कांग्रेस देखिन्छ ।

पार्टीभित्रै मेलमिलाप हुन नसकेको बेला कांग्रेसका नेताहरू बालुवाटारमा केपी ओली र खुमलटारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलाप गरिरहेका खबर सार्वजनिक हुन्छन् ।

कांग्रेसको खराब हालत देखेर शुभचिन्तक समर्थक चिन्तित छन् । सामाजिक सञ्जाल र विभिन्न बहसमा कांग्रेसका कार्यकर्ता खुलेरै पार्टी नेतृत्वको आलोचना गर्न थालेका छन् । तर नेताहरू आफ्नै डम्फु बनाइरहेका छन्, कांग्रेसको अवस्था सुधार्ने न कुनै योजना देखिएको छ, न त सशक्त प्रतिपक्षको भूमिका नै । जनता देशमा प्रमुख प्रतिपक्ष खोजिरहेका छन् ।