यी हुन् कांग्रेसका ‘जंगबहादुर’ जसले विधान र पद्दतीलाई धोती लगाइदिए !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, पुस १५, २०७६

नेपाटप

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, पद्दती र नियम त मिचेकै थिए अब जंगबहादुर शैलीमा निर्णय पनि गराउन सुरु गरेका छन् । जसका कारण कांग्रेसभित्र गुटगत समिकरणका पहिरो जाने लगभग निश्चित भइसकेको छ ।

अर्को कार्यकालमा पनि सभापति बन्ने अभिलाषा राखेका ७७ बर्षिय देउवाले पार्टीका विभाग २७ बाट ४१, तरुण दलको अवधि ६ महिना थप्ने, आगामी बर्षको फागुनमा मात्रै महाधिवेशन गर्ने निर्णय गरेर जंगबहादुर राणाको शैली अपनाएको कांग्रेस नेताले नै आरोप लगाउन थालेका छन् ।

नेपाल लाइफ

प्रमुख प्रतिपक्षी दलका नेता भएका नाताले सरकारलाई विधि विधान र संविधानका दायरा सिकाउनेले आन्तरिक पार्टी निर्णयमा तानाशाही व्यवाहार देखाएको भन्दै उनको आलोचना पदाधिकारी, बरिष्ठ नेतालगायतबाट नै हुन थालेको छ । महामन्त्री डा. शशांक कोइरालाले त अब देउवाको नेतृत्व फेरि आए कांग्रेस समाप्त हुनसक्नेसम्मको चेतावनी दिएका छन् ।

यसै साता केन्द्रीय समितिको बैठक डाकी देउवाले मनलाग्दी निर्णय गराइछाडे, जसमा रामचन्द्र पौडेललगायतका नेताको सहभागीता नै थिएन । सहमतिका आधारमा हुनुपर्ने निर्णय बहुमतका आधारमा गरेर पार्टीजीवन नै ध्वस्त बनाएको नेताहरूको कथन छ ।

१३ औं महाधिवेशनको दोस्रो राउन्डमा सभापति बन्न सफल भएका देउवाले चुनावमा पार्टीको अवस्थालाई ध्वस्त पारेका थिए ।

कतिपय ठाउँमा तत्कालिन माओवादीसँग सहकार्य गरेको, महाअभियोगलगायतका मुढेबलका काम गरेर कांग्रेसलाई जनतामा अलोकप्रिय बनाएको आरोप खेपीरहेका उनले पार्टी सत्तामा बसेर पदको दुरुपयोग गरेको हुन् ।

‘जंगबहादुरका पालामा पनि यतिसम्मको अराजकता र मनलाग्दी काम भएको थिएन होला, जुन सभापतिले गरिरहेका छन् । सहमतिका आधारमा नै बहुमत र अल्पमतको निर्णय हुने गर्छ । एउटा तप्का बैठकमा सहभागी नभएको मौकामा मनलाग्दी निर्णय भयो’, एक केन्द्रीय सदस्य भन्छन्,‘भ्रातृ संगठनदेखि अनेक संस्थालाई ध्वस्त पारेपछि पार्टीलाई पनि खरानी बनाउने व्यवाहार उत्रिएको प्रस्ट देखियो ।’

त्यसो त नेपाल विद्यार्थी संघका लागि पारित गरिएको विधान मिचेरै नेतृत्व ५० कटेकालाई दिन लागेको भनी विरोध भएको थियो । जहाँ कार्यकर्तालाई अपशव्द नै बोलेर देउवाले गाली गरेका थिए । त्यसबेला पनि उनको चर्को आलोचना भएको थियो ।

यति मात्र होइन, देउवाको चरित्रलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले व्यंग्यात्मक रुपमा कुरा नै नबुझिनेसम्म भनेकी थिइन् ।
‘उहाँको कार्यशैली प्रधानमन्त्री हुँदा होस् वा सभापति हुँदा एउटै खालको देखिएको छ । हिजोको दिनमा जस्तै अहिले पनि पदको दुरुपयोग गरी मनपरी निर्णय लिन थाल्नु भयो’, कांग्रेस उच्च स्रोतले भन्यो,‘बुढानिलकण्ठलाई मुकाम बनाएर कांग्रेसलाई एक्लौटी ढंगले चलाउने कोशिश भएको छ यो मान्य हुँदैन ।’

देउवाको पछिल्लो निर्णयको विरोधमा पौडेलले तल्ला तहसम्म नै पार्टीमा भण्डाफोर गर्दै हिँड्ने बताइसकेका छन् । यहाँसम्मकी पत्रकार सम्मेलन गरेरै आफ्ना सभापतिविरुद्ध पौडेलले आक्रोश व्यक्त गरेका थिए ।

देउवाका यस्तो हर्कतका विषयमा भने कांग्रेसमा उदाइरहेको कृष्णप्रसाद सिटौलाको समूह भने मौन रहेको छ । देउवाविरुद्ध पौडेलसहित महामन्त्री कोइराला, नेता शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमानसिंहलगायतको ठूलो खेमा लागेको छ ।

‘हिजोका दिनमा कोइराला परिवारले देउवालाई जसरी पेलेको थियो, उनीहरूले पनि पेलिनुपर्दाको पीडा खेपीरहेका छन्’, स्रोतले भन्यो,‘गिरीजाप्रसाद कोइरालालेचाहिँ विधि र विधान मिचेर जे गर्दा नि ठिक थियो, अहिले देउवाले गर्दाचाहिँ गलत भयो ?’

यति मात्र होइन केन्द्रीय समितिका बैठकमा पनि कतिपयको भनाभन नै हुने गरेको थियो । यहि क्रममा महासमिति सदस्यहरूको भेला गरी महाधिवेशनलगायतका विषयमा निर्णय भएको थियो । पौडेल समूहले महासमितिको निर्णयविरुद्ध केन्द्रीय समितिमा बहुमत भएको नाममा पेलेको आरोप लगाउँदै आएको छ ।