गगन थापा पुग्नुअघि नै कम्युनिस्टको गढमा खैलाबैला, पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, मंसिर ३, २०७६

नेपाटप

भक्तपुर – मंसिर १४ गते भक्तपुरमा हुने प्रदेशसभा सदस्य उपनिर्वाचन प्रचारका लागि बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापा निर्वाचन क्षेत्रमा आउने भएका छन् ।

कम्युनिस्टको गढ मानिने प्रदेशमा कांग्रेस उम्मेदवारलाई जिताउन प्रचारप्रसार तीब्र बनाइएको छ ।

नेपाल लाइफ

प्रचारमा गगन थापा आउनुअघि नै नेपाली कांग्रेस भक्तपुरले चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रमअघि विभिन्न पार्टीका नेता कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।

घरदैलो कार्यक्रमअन्तर्गत आयोजित कोण सभामा मन्तव्य राख्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बुढीगण्डकी आयोजनाको लागि पेट्रोलियम पदार्थबाट अतिरिक्त शुल्क लिएर खडा गरिएको कोषबाट नेपाल आफैंले निर्माण गर्ने भनिएको आयोजना कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले विना प्रतिस्पर्धा चाइनिज कम्पनीलाई दिएको आरोप लगाएका छन् ।

ओली सरकार कमिसन र भ्रष्टाचारमा लिप्त रहेको प्रमाणित भएको उनले बताए । उनले हिजोका दिनमा निर्वाचनअघि जनतामाझ गरेका कुनै पनि वाचा पूरा गर्न नसकेको ओली सरकारले नेपाली कांग्रेसको पालामा सुरू गरिएका आयोजनाको जस लिन खोजेको आरोप लगाएका छन् ।

कोणसभामा नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले महंगी, कर, बलात्कार, भ्रष्टाचार, अधिनायकवादवादलाई बढावा दिइरहेको ओली सरकारलाई सतर्क र सजग गराउनको लागि नेपाली कांग्रेसको जीत अपरिहार्य रहेको बताएका छन् ।

कम्युनिस्ट सरकारले पछिल्लो २ वर्षमा गरेका गतिविधिबाट मतदाता खुशी नभएकाले उपनिर्वाचनमा नेपाली कांग्रेसलाई कम्युनिस्टहरूले समेत मत दिएर जिताउने बताएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमाको स्वर्गारोहण भएकाले उनको अनुपस्थितिमा सम्पूर्ण कार्यकर्ताहरूले आफूलाई नै उम्मेदवारको रुपमा अगाडि सारेर जनताको घरदैलोमा मत माग्न जानको लागि समेत अनुरोध गरिएको छ ।

विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका बिक्रम खत्री र निरञ्जन थापालाई युवा नेता राणाले टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् ।

तथालीका नेपाली कांग्रेसका वडा सभापति पुष्कर खत्रीको सभापतित्वमा सञ्चालित कोणसभामा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, नेपाली कांग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपाल, सचिव निशान ढुंगेल, क्षेत्रीय सभापतिहरू जीवन खत्री, नारायण खयमली लगायत जिल्लाका पदाधिकारी, सदस्यहरू, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस उपनिर्वाचन प्रदेश सभा १ (क) भक्तपुरका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीदेवी भँडेलको मंसिर १ गते देहावसान भएकाले उम्मेदवार विना नै नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको निर्वाचन परिचालन समिति संयोजक एवं क्षेत्रीय सचिव उद्धव खड्काले बताएका छन् ।