केपी ओली सरकार इतिहासकै लुते सरकार हो : नेता घिमिरे

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर २, २०७६

नेपाटप

धरान – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले वर्तमान केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई इतिहासकै लुते सरकारको उपमा दिएका छन् ।

खोक्रो राष्ट्रवादबाट जन्मिएको सरकार भएकाले कम्युनिस्ट सरकार अवैज्ञानिक रहेको समेत उनले आरोप लगाएका छन् ।

नेपाल लाइफ

धरानको भानुचोकमा रहेको प्रजातान्त्रिक चौतारीमा आयोजित नेपाली कांग्रेसको चुनावी कोणसभामा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति समेत रहेका घिमिरेले नेपाली भूमि रक्षा गर्न नसक्ने सरकार लुते, काम नलाग्ने, लाछी रहेको बताएका छन् ।

नेपाली जमिन भारतले आफ्नो नक्शामा कैद गर्दा पनि चुइँक्क नबोल्ने, एउटा विज्ञप्ति र एक फोन समेत गर्न नसक्ने सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका लागि केही गर्न नसक्ने बताए ।

‘हाम्रा महान् मानव बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता नेताले नेपाल र नेपालीको शिर उचो बनाउन अहम् भूमिका खेलेको तर कम्युनिस्ट नेताहरूले बालुवाटार बेच्ने, यौन हिंसा गर्ने, देशको सीमा मिचिँदा केही गर्न नसक्ने सरकार लाछी सरकार हो,’ उनले भने ।

नेपाली कांगे्रसका प्रखर वक्ता समेत रहेका घिमिरेले धराने जनताले लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्र महसूस गर्न नसकेकाले मंसिर १४ गते हुने उपनिर्वाचनबाट कांग्रेसलाई विजय गराएर धरानबाट कम्युनिस्ट नेताको नामबाट राजनीति गर्न दलालहरू कुलेलाम ढोक्ने बताएका छन् । कम्युनिस्ट नेताहरू आफूहरूलाई गरीब, मजदूर र सुकुम्बासीको नेता भन्ने गरेको तर नेपालको धनी मानिसको सूचीमा उनीहरू नै रहेको उनले बताएका छन् ।

धराने जनताले धरानलाई न्याय दिनका लागि कांग्रेसका तिलक राईलाई भोट दिई जिताउन आवश्यक रहेको उनले बताए । ‘धरानमा कम्युनिस्टको नीतिले जनता ठगिएका छन्, अब कम्युनिस्ट नाङ्गो भइसकेको छ,’ उनले भने, ‘कम्युनिस्ट सरकारले जिते कर, महंगी, भष्ट्राचार उपहार दियो । जनतालाई मालिक कांग्रेसले नै बनाउने हो ।’

धरानका नेता विकास आचार्यको संयोजकत्वमा भएको कोणसभामा नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडा र धरान–२ का सभापति सुबिरसिंह लिम्बूले सोधे, ‘धरानमा फेरि नेकपाले जिते कर घटाउने रे ! कर बढाउँदा बुद्धिमा बिर्काे लागेको थियो ?’