सत्तारुढ नेकपाबाट माधव नेपाल समूह फुट्यो, विद्रोही पक्षको छुट्टै समानान्तर कमिटी !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, कार्तिक ९, २०७६

नेपाटप

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तत्काली नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया नटुंगिँदै वरिष्ठ नेता माधवकुमार नेपाल समूह फुटेको छ ।

नेकपा दैलेखमा जिल्ला कमिटीले सबै स्थानीय तहको नेतृत्व टुंगो लगाएको केही दिनमै पूर्व एमालेका माधव नेपाल समूहसहित पूर्व माओवादीका असन्तुष्ट नेताले समानान्तर कमिटी घोषणा गरेका छन् ।

नेपाल लाइफ

दैलेख जिल्ला अध्यक्ष र सचिवले पार्टी केन्द्रीय कमिटीको निर्देशन विपरीत काम गरेपछि समानान्तर कमिटी बनाउनु परेको कर्णाली प्रदेश कमिटी सदस्य अम्मरबहादुर थापाले बताए ।

‘पुराना नेताको योगदान र संघर्षको कुनै कदर भएन । त्यसैले हामीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी तथा ११ वटै स्थानीय तहका कमिटी घोषणा गरेका छौं,’ उनले भने । थापा नेकपामा माधव नेपाल पक्षधर हुन् । थापासहितका नेता नेपाल पक्षधर नेताहरूले केन्द्रमा वरिष्ठ नेता नेपालले लड्ने र जिल्लामा आफूहरू भिड्ने भन्दै समानान्तर कमिटी घोषणा गरेका छन् ।

थापाले वरिष्ठ नेता माधवकुमार नेपाल सहितका पूर्व एमाले समूहका नेतासँग छलफल गरेर समानान्तर कमिटी बनाएको चर्चा जिल्लामा चलेको छ । जिल्लाको विवाद साम्य नभए केन्द्रसम्म पनि विवाद चर्किने संकेत देखिएको छ ।

गत मंगलबार जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, सचिव प्रेमबहादुर कटुवाल र केही प्रदेश र जिल्ला कमिटी सदस्यको उपस्थितिमा दुई प्रतिनिधिसभा, चार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, ११ स्थानीय तह तथा ९० वडा कमिटी घोषणा गरिएको थियो । सर्वसम्मत घोषणा गरिएको कमिटी थापा समूहलाई चित्त बुझेको थिए ।

कर्णाली प्रदेश कमिटी सदस्य थापा नेतृत्वको असन्तुष्ट समूहमा सहइन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्य पार्वतीकुमारी विशुंके, टेकबहादुर खाण, सावित्री मल्ल, गोपाल नेपाली, मायाराम अधिकारीलगायत नेता रहेका छन् ।