सिन्को भाँच्न नसक्ने नेकपाका सांसदहरू, टिभीमा अनुहार देखाउन तछाडमछाड

मिडिया डबली प्रकाशित : मङ्लबार, असार ३१, २०७६

नेपाटप

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले संसदमा संसदको नियमित कारबाही स्थगनको प्रस्ताव दर्ता गराएर बाढी, पहिरो र डुबानका बारेमा मात्रै छलफल गर्न गरिएको प्रस्तावलाई तुहाउने गरेर सभामुख कृष्णबहादुर महरा र दुईतिहाइको कम्युनिस्ट सरकारले छलछामको बाटो अपनाएको भन्दै आलोचना भएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको दवावमा सभामुख महराले कांग्रेस र राजपाको प्रस्तावका बारेमा संसदमा छलफल गर्न नहुने भनेपछि सोमबारको संसद बैठक सूचना टाँस गरेर स्थगित गरिएको स्रोतले जनाएको छ । कम्युनिस्ट सरकारले बाढी, पहिरो र डुबानमा उद्धार र राहत वितरण गर्न नसकेको भनेर संसदमा आलोचना हुने भएपछि प्रधानमन्त्री ओलीको दवावमा सभामुख महराले संसद बैठक रोकेको आरोप छ ।

नेपाल लाइफ

नेपाली कांग्रेस र राजपा नेपालले सभामुख महरासँग परामर्श गरेर संसदको नियमित कार्यसूचीलाई स्थगन गरेर अविरल वर्षाबाट भएको जनधन र सम्पत्तिको नोक्सानीका बारेमा मात्रै संसदमा छलफल गर्ने सहमति भएको थियो । अचानक सभामुख महराले कांग्रेस र राजपा नेपालसँग भएको सहमतिलाई उल्लंघन गरेर संसद बैठकलाई सूचना टाँस गरेर स्थगित गरेपछि विपक्षी दलका सांसदहरूले आक्रोश व्यक्त गरेका छन् ।

उता, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आधा दर्जन सांसदहरूले बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरूलाई उद्धार तथा राहतका लागि आफ्नै दलका प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग आग्रह गर्नुको साटो रिपोर्टर्स क्लवमा गएर नाटक प्रदर्शन गरेका छन् ।

रिपोर्टर्स क्लवमा गएर नेपाली कांग्रेसलाई गाली गरेर नेकपाका सांसदहरूले दुईतिहाइको कम्युनिस्ट सरकारको असक्षताको बचाउ गरेको आरोप लागेको छ ।
यसरी बचाउ गर्नेमा नेकपाका सांसद नवराज सिलवाल (ललितपुर), यज्ञराज सुनुवर (ओखलढुंगा), विशाल भट्टराई (खोटाङ), कल्याणीकुमारी खड्का (रौतहट), सुरेश राई (उदयपुर) र लीलानाथ श्रेष्ठ (सिरहा) रहेका छन् ।

आफ्नै दल नेकपाका अध्यक्ष ओली दुईतिहाइको बलियो कम्युनिस्ट प्रधानमन्त्री भएका बेला यी आधा दर्जन सांसदहरू बालुवाटारमा पुगेर उद्धार र राहतका लागि दवाव दिनुको सातो सस्तो लोकप्रियता र टेलिभिजनमा अनुहार देखाउन रिपोर्टर्स क्लवमा गएर साक्षत्कार गरेको आरोप लागेको छ । उनीहरूका विरुद्ध सामाजिक सञ्जालमा कटु आलोचना भएको छ ।

‘आफ्नै दलको प्रधानमन्त्री र मन्त्रीहरूलाई गएर भेटेर बाढी, पहिरो र डुबानमा परेकाहरूलाई उद्धार र राहतका लागि दवाव दिन नसक्ने, टिभीमा अनुहार देखाउन रिपोर्टर्स क्लवमा साक्षत्कार गर्ने’, सामाजिक सञ्जालमा नेकपाका यी आधार दर्जन सांसदहरूको आलोचना गर्दै लेखिएको छ, ‘प्रधानमन्त्री ओलीलाई भेट्न पाएको पो बालुवाटार जाने थिए । भेट्न नपाएपछि रिपोर्टर्स क्लवभन्दा जाने ठाउँ कहाँ छ र ? बिचराहरू !’

बाढी, पहिरो र डुबानबाट आफ्नै जिल्लाका पीडितहरूका बारेमा केही सिन्को भाँच्न नसकेका यी छ जना सांसदको आफ्नै मतदाताहरूले समेत आलोचना गरेका छन् ।
उनीहरूले सोमबारको संसद बैठक सूचना टाँस गरेर स्थगित गरिएकोमा सभामुख कुष्णबहादुर महराको पनि आलोचना गरेका छन् । उनीहरूले कांग्रेस र राजपाको बेवास्ता गर्दै संसद चलाउनुपर्ने भनेर महरालाई दवाव दिएका छन् ।