Logo
  • शुक्रवार, जेठ १६ २०७७May 29 2020

images
images

नेपालमा कोरोनाको लेखाजोखा 'खतरनाक' : एकै हप्तामा संक्रमितको संख्या दोब्बर

नेपालमा कोरोनाको लेखाजोखा 'खतरनाक' : एकै हप्तामा संक्रमितको संख्या दोब्बर

  • मिडिया डबली

  • शनिवार, जेठ १० २०७७


  • नेपालमा कोरोनाको लेखाजोखा 'खतरनाक' : एकै हप्तामा संक्रमितको संख्या दोब्बर

    काठमाडौं – मुलुकमा कोरोना भाइरस रोगका संक्रमितको संख्या १ हप्तामै दोब्बर भएको छ ।

    गत माघ ९ मा पहिलो कोरोना संक्रमित पहिचान भएको थियो । त्यसयता शुक्रवार संक्रमण ४० जिल्लामा विस्तार भएको खुलेको छ ।

    images

    मृत्यु भएका ३ जनासहित मुलुकमा संक्रमितको संख्या ५१६ पुगेको छ । १ हप्ताअघि अघिल्लो शुक्रबार २ सय ५८ संक्रमित पुष्टि भएका थिए ।

    ‘अहिले देशमा संक्रमण दोब्बर हुने समय ७ दिन देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले भने, ‘संक्रमण दोब्बर हुने समय जति कम हुन्छ, रोग त्यति धेरै तीव्र गतिले फैलिरहेको बुझिन्छ ।’

    हाल विश्वमा नेपालको हाराहारी मंगोलिया र हैटीमा ६ दिन संक्रमण दोब्बर भएको देखिएका छन् । विश्वमै सबैभन्दा छोटो समयमा संक्रमण दोब्बर भएको कोमोरसमा हो । त्यहाँ २ दिनमै संक्रमितको संख्या दोब्बर भएको थियो ।

    संक्रमण कम फैलिनु मुख्य रूपमा २ वटा कारण रहेको महतो औल्याउँछन् । ‘केस रिपोर्टिङ (संक्रमणको पहिचान) प्रारम्भिक अवस्थामा रहे थोरै तथ्यांक भएकाले संक्रमण दोब्बर हुने समय कम देखिन सक्छ,’ उनी भन्छन्, ‘अर्को कुरा यदि साँच्चै संक्रमणको फैलावट छिटो भइरहेको छ भने पनि दोब्बर हुने समय कम देखाउँछ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    छिमेकी मुलुकहरूमा संक्रमण दोब्बर हुने समयले नेपालभन्दा ढिला देखिएका छन् । हाल पाकिस्तानमा १५ दिन, भारतमा १४ दिन, बंगलादेशमा १२ दिन र भुटानमा १० दिनमा संक्रमितको संख्या दोब्बर भएको छ । संक्रमण दोब्बर हुने समय बढी रहेका मुलुकमा संक्रमणको दर कम भइरहेको बुझिने महतो बताउँछन् । चीनमा निकै ढिला संक्रमण दोब्बर भएको थियो । त्यहाँ १ सय १ दिनमा कोरोनाको संक्रमण दोब्बर भएको थियो । यस्तै बेलायतमा ३१ दिन, फ्रान्समा ४५ दिन, जर्मनीमा ४७ दिन, इटली र स्पेनमा ४९ दिन संक्रमण दोब्बर भएको थियो ।

    कोरोना संक्रमणका शंकास्पद व्यक्ति धेरै भए पनि तीव्र गतिले यो फैलिन्छ । ‘शंकास्पद जनसंख्या बढी भयो भने संक्रमण दोब्बर हुने समय कम हुन्छ । शंकास्पद जनसंख्या बढी भयो भने संक्रमण दोब्बर हुने समय बढी हुन्छ,’ महतोले भने । संक्रमण कति छिटो फैलिने भन्ने कुरा रोकथाम नियन्त्रण कसरी भइरहेको कामले निर्धारण गर्छ ।

    दुई महिना लकडाउन भएपनि मानिसहरूको सक्रियता, ओहोरदोहोर उल्लेख्य रूपमा नियन्त्रित नहुनु, गुणस्तरीय क्वारेन्टाइनको समुचित उपयोगसमेत नभएकाले संक्रमणको भित्रभित्रै विस्तार भइरहेको स्वास्थ्य मन्त्रालयका एक पदाधिकारी बताउँछन् । उनका अनुसार परीक्षणको दर बढ्दा संक्रमितहरू देखिन थालेपछि संक्रमण कुन हदसम्म फैलिन्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

    १ हप्तायता मुलुकमा पहिलेको दाँजोमा पीसीआर परीक्षणको दायरामा वृद्घि भएको छ । ३ दिनयता मुलुकमा १० हजार १ सय २० नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

    ‘जति मात्रामा जसरी पीसीआरलगायत परीक्षण हुनुपर्ने हो, त्यो अझै भएकै छैन,’ नारायणी अस्पतालका डा. निरज सिंह भन्छन्, ‘परीक्षणमा मुलुक सुहाउँदो विस्तार भए संक्रमितको संख्या झन् बढी हुन्छ । यसपछि वास्तविक संक्रमितको तथ्यांक अनुमान गर्न सकिन्छ । महामारीसम्बन्धी आकलन सही रूपमा गर्न सकिन्छ ।’

    स्वास्थ्य मन्त्रालयका पदाधिकारी पीसीआर विधिबाट परीक्षणको दर अपेक्षित रूपमा बढ्न नसकेको स्वीकार गर्छन् । ‘तर दिनमा करिब ३ हजार पीसीआर परीक्षण हुनु राम्रो भए पनि हालको अवस्थामा दिनहुँ दर झन् बढी गर्नैपर्छ,’ उनले भने ।

    अझै पनि संक्रमितहरूको पर्याप्त कन्ट्याक्ट ट्रेसिङ नभएको चिकित्सकहरूको भनाइ छ । डा. सिंह मुलुकको आवश्यकताअनुसार दिनहुँ उल्लेख्य संख्यामा परीक्षण हुनुपर्ने बताउँछन् ।

    मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार ४० जिल्ला गरी थप ५९ जना नयाँ संक्रमित देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म संक्रमण पुष्टि भएकाहरूमा ४ सय ४० जना पुरुष र ७६ जना महिला छन् ।

    शुक्रवार २१ जना डिस्चार्ज भएपछि हालसम्म अस्पतालबाट स्वस्थ भएर घर फर्किनेको संख्या ७० पुगेको छ । उनीहरू १७ देखि २० दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

    हालसम्म प्रदेश १ बाट २६, प्रदेश २ बाट ६, वाग्मतीबाट ९, गण्डकीबाट २, प्रदेश ५ बाट २२ र सुदूरपश्चिम प्रदेशबाट ५ जना डिस्चार्ज भएर घर फर्केका हुन् ।

    मुलुकमा शुक्रवार पीसीआर विधिबाट ३ हजार ८ सय १९ शंकास्पद नमुनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म ४२ हजार ४ सय ८८ नमुनाको पीसीआरबाट परीक्षण गरिएको हो । द्रूत परीक्षण किट (आरडीटी) बाट शुक्रवार ३ हजार ४२१ नमूनाको परीक्षण गरिएको छ । हालसम्म आरडीटीबाट मुलुकमा गरिएको नमुना परीक्षणको संख्या ८२ हजार १ सय १६ पुगेको छ ।

    हाल मुलुकका विभिन्न क्वारेन्टाइनमा २७ हजार ८ सय २९ जना छन् । प्रदेश १ मा १ हजार ४१४, प्रदेश २ मा ५ हजार ९०६, वाग्मतीमा ४७८, गण्डकीमा ६७८, प्रदेश ५ मा १५ हजार ९९९, कर्णालीमा ७३५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ६२९ जना क्वारेन्टाइनमा छन् ।

    मुलुकका विभिन्न स्थानका उपचार केन्द्रको आइसोलेसनमा ४३३ जना छन् । प्रदेश १ मा ५८, प्रदेश २ मा १४५, वाग्मतीमा १८, गण्डकीमा ३, प्रदेश ५ मा २०३, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना आइसोलेसनमा रहेका छन् ।

    शनिवार, जेठ १० २०७७०७:०९:५५

    मिडिया डबली

    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology