लकडाउनलाई थप कडा बनाउँदै सरकार, ५७ वर्षपछि पहिलो पटक कडा कानून लागू

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र १३, २०७६

नेपाटप

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमणविरुद्ध घोषणा गरेको ‘स्व–कर्फ्यु’ (लकडाउन) प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ ।

नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई थप कडा बनाउन थालिएको छ ।

नेपाल लाइफ

कोरोना संक्रमित अर्को व्यक्ति फेला परेसँंगै सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि लकडाउन प्रभावकारी बनाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन पुनः आग्रह गरेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको निर्णय बमोजिम संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार ११ गते मंगलवारबाट लागू भएको सो कानून कार्यान्वयनमा सर्वसाधारणको सहयोगप्रति धन्यवाद दिए ।

यो ऐन निर्माण भएको करीब ५७ वर्षपछि पहिलो पटक लागू भएको हो । उनले ऐन कार्यान्वयनका क्रममा केही अन्योला उत्पन्न भई सानातिना समस्या देखिएपनि सहज रूपमा समाधान भएको स्पष्ट पारे ।

लकडाउनको दोस्रो दिन काठमाडौंं उपत्यकामा केही उल्लंघनका घटना बढेका छन् । आफूखुशी सवारी सञ्चालन गरेको अवस्थामा चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैलालगायत आवश्यक उपभोग्य वस्तुहरूको कारोबार गर्ने पसलहरू बन्द नहुने र सदाझैं निर्बाध रुपमा सञ्चालन गर्न गराइदिन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले अत्यावश्यक कामबाहेक आफूखुशी सडकमा निस्केकालाई नियन्त्रणमा लिई कारबाही गर्ने र अटेर गर्नेमाथि बल प्रयोग गर्न निर्देशन दिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले अप्ठ्यारो परेकालाई सोधपुछ गरी छोडिदिने र अन्यको हकमा नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन भएको बताए । ‘यो संकटको बेला हामीले आफ्नो सुरक्षा आफैंले गर्ने हो,’ उनले भने । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

छिमेकी जिल्लाहरू धादिङ, नुवाकोट, काभ्रे, गोरखा, मकवानपुर र रसुवा जान मोटरसाइकलमा हिँडेकालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ७७० मोटरसाइकल, १२१ गाडी गरी ८९१ भन्दा बढी सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । गम्भीर समस्या परेमा नजिकको प्रहरी तथा जनप्रतिनिधिलाई खबर गर्न अनुरोध गरिएको छ । खाद्यवस्तु, औषधि उपचार वा बिरामी परेमा तत्कालै नजिकको प्रहरी वा हटलाइन टेलिफोनमा सम्पर्क गरी सहयोग लिन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै जरुरी काम नपरीकन सवारी पास माग गर्ने प्रवृत्ति बढेको भन्दै पास वितरण व्यवस्थित पारिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अतिआवश्यक कामबाहेक अन्य कामका लागि पास लिन भीड नगर्न आग्रह गरेका छन् ।

सञ्चारकर्मीका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ । स्वास्थ्यकर्मी तथा मेडिकलजन्य उपकरण तथा औषधि ढुवानीकर्ताका लागि परिचयपत्र भए पुग्ने छ । मलामी, बिरामी कुरुवा र बिरामी व्यक्तिका लागि नजिकको प्रहरीसँंग समन्वय गर्न भनिएको छ ।

नेपाल–भारत सीमामा अलपत्र परेकालाई कडा स्वास्थ्य जाँच गरी सम्बद्ध स्थानीय तहले क्वारेन्टाइनमा राख्ने गरी नेपाल प्रवेश गर्न अनुमति दिइएको छ । मन्त्रालयका अनुसार सम्बन्धित प्रदेश सरकार वा जिल्ला र स्थानीय तहले भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्नुपर्ने जनाइएको छ ।