भारतले देखायो ठूलो मन, विपत्तिका बेला नेपाललाई यस्तो सहयोग !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, चैत्र ८, २०७६

नेपाटप

काठमाडौैं – भारतसरकारले आवश्यक परेको बेला नेपाललाई चिकित्सक र विशेषज्ञसहितको र्‍यापिड रेस्पोन्स टीम पठाउने आश्वासन दिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रवार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो अफर गरेका हुन् । ज्ञवालीले भारतको अफरलाई स्वागत गरेको र त्यसका लागि भारतलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफ

भारतीय विदेशमन्त्री जयशंकरलाई मन्त्री ज्ञवालीले अत्यावश्यक औषधि र खाद्य पदार्थको आपूर्ति थप सहज बनाउनुपर्नेमा जोड दिएका छन् । भारतस्थित नेपाली दूतावासले पनि विदेश मन्त्रालयमा यसबारे छलफल गरेको परराष्ट्र स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोरोना भाइरस महामारीविरुद्ध खर्च गरिने संयुक्त आपत्कालीन कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘महामारीसँग जुध्न हाम्रा छिमेकीहरू, क्षेत्रीय मित्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिबद्ध छौं,’ ओलीले भने । यसका लागि दुवै छिमेकी तथा अन्य मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र सद्भाव प्राप्त भइरहेको पनि उनले बताएका छन् ।

दुबईबाट फर्केर दिल्लीमा रोकिएका २८ नेपाली आज आउँदै

दुबईबाट शुक्रवार नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल हुँदै काठमाडौं फर्कनुपर्ने २८ नेपाली दिल्लीमै रोकिएका छन् । भारतको लामो सुरक्षा तथा स्वास्थ्य जाँचका कारण नेपाल उड्ने एयर इन्डियाको विमान छुटेका कारण उनीहरू आउन पाएनन् । नेपाली दूतावासको समन्वयमा उनीहरूलाई शनिवार बिहान काठमाडौं आउने प्रबन्ध गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीका अनुसार ट्रान्जिट अवधि छोटो भएको र सुरक्षा तथा स्वास्थ्य परीक्षणका लागि लामो समय लागेका कारण उनीहरू छुटेका थिए । रेग्मीले टेलिफोनमा भने, ‘यो विषयको जानकारी पाएलगत्तै हामीले एयर इन्डियासँग समन्वय गर्‍र्यौं । उहाँहरूलाई शनिवार बिहानको नियमित उडानबाट स्वदेश फिर्ता गर्ने सहमति भयो । अहिले उहाँहरू एयरपोर्टकै ट्रान्जिटमा हुनुहुन्छ ।’ रेग्मीले अन्य कुनै कारणले नेपालीलाई नरोकिएको सूचना पाएको पनि बताए ।

नेपाल–भारत सीमाना अघोषित बन्द गरिने

नेपाल र भारतले करीब १८ सय किलोमिटर सीमानाका अघोषित रूपमा बन्द गर्ने तयारी गरेका छन् । १ सातायता भएका विभिन्न छलफलपछि २ सरकार सीमा–नाका बन्द गर्ने निष्कर्षमा पुगेका छन् ।

खुला सीमा–नाकामा निर्बाध आवतजावत हुँदा नेपालमा कोरोनाको जोखिम बढिरहेको छ । सीमा–नाका व्यवस्थापनबारे परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रवार भारतीय समकक्षी डा. एस जयशंकरसँग टेलिफोनमा छलफल गरेका थिए । दुवै परराष्ट्रमन्त्रीहरूको छलफलबारे परराष्ट्र मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उहाँहरूबीच सीमा क्षेत्रमा कोरोना भाइरसको जोखिम र भयावह अवस्थालाई न्यूनीकरण गर्न प्रभावकारी निगरानीका उपाय अपनाउनेबारे छलफल भएको छ ।’

यसैसाता परराष्ट्रसचिव शंकरदास बैरागीले भारतीय राजदूत विनयमोहन क्वात्रासँग छफलल गरेका थिए । भारतस्थित नेपाली दूतावासबाट राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतकुमार रेग्मीले भारतीय अधिकारीसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।

खुला र जोडिएका बस्ती मात्र नभएर भारतबाट नेपाल आउने आपूर्तिमा पर्ने असर र भारतबाट अहिले धमाधम स्वदेश फर्किरहेका नेपालीको अवस्थालाई ध्यानमा राख्दै निश्चित समय निर्धारण गरेर निर्णय गर्ने तयारी छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकमा पनि यसबारे छलफल भएको थियो ।

खुला तथा घर–बस्ती जोडिएको सीमा भएकाले पूर्ण रूपमा घोषित बन्द गर्न नसकिने तर स्वास्थ्य सुविधा स्तरोन्नति गर्दै र चरणबद्ध रूपमा नियन्त्रणका उपायसहित बन्द गर्ने तयारी छ । यसबारे जानकार अधिकारीले भने, ‘पेट्रोलियम पदार्थ, ग्यास, औषधि, खाद्यपदार्थजस्ता अत्यावश्यक सामग्रीको आपूर्ति निरन्तर हुने शर्तमा एउटा समयसीमा राखेर सीमामा आवतजावत बन्द गर्ने तयारी छ । सुरूमा घोषित नाकाहरूबाट मात्रै ओहोरदोहोर गर्न दिने गरी सीमा नियन्त्रण गर्ने र अन्ततः सीमा बन्द गर्ने तयारी छ ।’

नेपाल र भारतका विभिन्न तह र चरणमा भएका छलफलबारे जानकार सरकारी स्रोतका अनुसार सिमाना पूर्ण बन्द गर्न नसकिने ठहर दुवै देशको छ । परिस्थितिको आकलन गर्दै यसबारे निर्णय गर्नेमा दुवै देशबीच सहमति भएको जानकार स्रोतले बतायो ।