नेपालमा श्वासप्रश्वासले २० जनाको मृत्यु तर कोरोना जाँच गरिएन ! हेर्नुस् यी ५ गम्भीर तथ्य

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र ७, २०७६

नेपाटप

काठमाडौं – चीनको वुहानमा कोरोना फैलिएर विश्वको ध्यानाकृष्ट भएको ६० दिन पुग्दा हाम्रोमा एउटा पनि आईसीयू बेड थपिएको छैन, अझै पनि भारत, चीन, थाइल्यान्ड, सिंगापुर र अमेरिकाबाट आउन रोकतोक छैन, आएकालाई पनि निष्फिक्री घुम्ने छुट छ, यो बीचमा इटलीलगायत सिंगो युरोप, इरान र अमेरिकाले असाधारण मूल्य चुकाएका छन्, तर मौका पाएर पनि हामी चुक्दै छौं ।

५ तथ्य जसले हाम्रो तयारीको तस्बिर दिन्छ

नेपाल लाइफ

१. भारत र चीन मात्र होइन, थाइल्यान्ड, सिंगापुर र अमेरिकाबाट आउन अझै रोकतोक छैन
वुहान ‘लक्डडाउन’ भएको ६० दिनपछि अर्थात् शुक्रवारदेखि नेपालमा ५५ देशबाट यात्रु आउन बन्देज लागेको छ । तर कोरोना प्रभावित चीन, भारत, अमेरिका मात्र होइन, सिंगापुर र थाइल्यान्डबाट नेपाल आउन अझै पनि रोकतोक छैन । अमेरिकी मुलुकबाट सिंगापुर, बैंकक, हङकङ र दिल्ली हुँदै काठमाडौं आउन अहिले पनि रोकिएको छैन ।

२. प्रभावित देशबाट आइरहेका नेपाली घरमा, होटेलमा बसेर आफूखुशी घुमघाम गर्दै विदेशी

प्रभावित देशबाट आउने नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ । तर बसे–नबसेको अनुगमन छैन । त्यस्तै विदेशी पर्यटकलाई फारम भराएर उनीहरूले चाहेको होटेलमा बस्न भनिएको छ । होटेलबाट बाहिर ननिस्कन र घुमघाम नगर्न उनीहरूलाई अनुरोध गरिएको छ । तर पर्यटकहरू काठमाडौं हुँदै चितवन, पोखराका रेस्टुरेन्टमा घुमिरहेका छन् ।

३. भारतमा कोरोना संक्रमण, भीडका भीड आवतजावत, ज्वरो जाँच्न थर्मल गनसमेत छैन

भारतका १७ राज्यमा कोरोना भाइरस फैलिएको छ । पछिल्लोपटक कोरोना देखिएको उत्तर प्रदेशको सीमावर्ती क्षेत्र लखिमपुर–खिरी नेपालका कैलाली र कञ्चनपुरबाट नजिक पर्छ । रुपेडिया नाका भएर भारतीय र नेपालीको लखनउ र नेपालगन्ज झन् बाक्लो आउजाउ हुन्छ । तर सीमाका चेकपोस्टमा ज्वरो नाप्ने थर्मल गनसमेत नहुँदा नेपालमा जोखिम बढेको छ । कतिपय स्थानमा थर्माेमिटरबाटै चेकजाँच हुने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

४. आईसीयूमा भर्ना भएका श्वासप्रश्वासका गम्भीर बिरामीको पनि कोरोना टेस्ट गरिएन

चीनमा कोरोना फैलिएकै बेला अर्थात् १५ पुसदेखि फागुन अन्तिमसम्म नेपालमा दम लगायतका श्वासप्रश्वासका २ हजार ६२७ बिरामीलाई आईसीयूमा राखेर उपचार गरिएको छ । यहीबीचमा श्वासप्रश्वासका कारण २० जनाको मृत्यु पनि भएको छ । श्वासप्रश्वासका बिरामीको यो संख्या नियमितभन्दा फरक र असाधारण होइन । तर यसबेला संक्रमण फैलिएकाले सतर्कताका लागि उनीहरूको पनि कोरोना टेस्ट गर्न स्वास्थ्य मन्त्रालयले नै निर्णय गरेको थियो । तर अहिलेसम्म ती बिरामी कसैको पनि टेस्ट गरिएको छैन । मन्त्रालयले आफ्नै निर्णयको अनुगमन समेत गरेको छैन ।

५. कोरोना टेस्ट गर्न देशभरमा एउटा मात्रै ल्याब, सातै प्रदेशमा ल्याब राख्ने निर्णय अलपत्र

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र अहिले कोरोना भाइरस परीक्षण हुन्छ । अब पूर्व काँकडभिट्टादेखि पश्चिम कञ्चनपुरसम्मका बिरामीको परीक्षण गर्न नमुना अब काठमाडौं ल्याउनुपर्ने बाध्यता छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले सातै प्रदेशमा बायोसेफ्टी लेभल २ (बीएसएल–२) ल्याब स्थापना गर्ने निर्णय गरेको थियो । तर त्यो निर्णयको अनुगमन छैन । यसका लागि न बजेट छुट्याइएको छ, न खरिद प्रक्रिया अगाडि बढाइएको छ । यस्ता ल्याब कुन प्रदेशमा कहाँ राख्ने भन्ने टुंगोसमेत भएको छैन ।