केपी ओलीले देखेको त्यो षड्यन्त्र, यस्तो छ नालीबेली !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, फाल्गुन १५, २०७६

नेपाटप

काठमाडौं – नेकपा उपाध्यक्ष गौतमलाई प्रधानमन्त्रीका लागि बाटो खुलाउने गरी संविधान संशोधन गर्न कार्यदल गठनको निर्णय विवादस्पद बनेपछि मंगलवार दिनभर शीर्ष नेताहरूले त्यसबाट पछि हट्ने उपायमा केन्द्रीत रहेर छलफल गरे ।

बिहान १० बजेदेखि राति पौने १० बजेसम्म नेताहरूले ‘वान अन वान’ र सामूहिक छलफल गरे । अध्यक्ष केपी ओली र प्रचण्डबीच बिहान बालुवाटारमा करीब एक घण्टा छलफल भएलगत्तै खुमलटारस्थित प्रचण्ड निवासमा पनि अर्को छलफल भएको थियो ।

नेपाल लाइफ

खुमलटारमा प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष गौतमसँग छलफल गरे । दिउँसो १ बजेको त्यही समयमा बालुवाटारमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बेग्लै छलफल भयो । करीब डेढ घण्टाको छलफलपछि बाहिरिने बित्तिकै प्रचण्डले नेपाललाई खुमलटारमै बोलाए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

स्रोतका अनुसार नेपाल पुगेपछि त्यहाँ प्रचण्डसहित चार नेताबीच छलफल भएको थियो । दिनभर छलफलमा व्यस्त नेपाललाई लगत्तै प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाए । साँझ करीब ७ बजेबाट उनीहरुबीच ३ घण्टा लामो छलफल भएको थियो ।

सचिवालय बैठक : वामदेवलाई सांसद बनाउने प्रस्ताव स्वीकृत, राष्ट्रपतिबाट मनोनित सांसद ९ जना पुर्‍याउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत

बुधवार बिहान ११ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक सुरूवात गर्दै अध्यक्ष प्रचण्डले भने – वामदेव कमरेडले राष्ट्रिय सभामा जान संविधान संशोधनको सर्त राख्नुभएको थियो । त्यसैले कार्यदल बनेको हो । यो निर्णय गोप्य राखौं भन्ने सहमति भएको हो । तर हाम्रो निर्णयको विषयमा जनमानसबाट राम्रो प्रतिक्रिया आएन । पार्टीभित्र र बाहिर दुवैतिरबाट विरोधको स्वर आयो । हामी पनि द्विविधामा फस्यौं । अब कार्यदल राखौं कि भंग गरौं ? वामदेव कमरेडलाई राष्ट्रिय सभामा पठाऊँ कि नपठाऔं ? निणर्य गरौं । सर्वसम्मत निर्णय गरौं, नत्र बाहिर राम्रो सन्देश जान्न ।

प्रचण्डको प्रस्तावपछि प्रधानमन्त्री ओली बोले – तपाईंहरू कहाँ–कहाँ सल्लाह गरेर आउनुभएको छ ? निर्णय पनि लिएरै त आउनुभएको होला । ल्याउनुस्, तपाईंहरूका निर्णय के–के छन् ? एक–एक गरेर हेरौं ।

तेस्रो नम्बरमा तेस्रो वरीयताकै नेता झलनाथ खनाल बोले । उनले भने – हामी सचिवालयका सबै सदस्य संघीय संसदमा छौं । अब वामदेव कमरेडलाई पनि राष्ट्रिय सभामा लैजाउँ । उहाँका अरु चासोहरु हल हुँदै जान्छन् । आवश्यकता अनुसार संविधान संशोधन पनि होला । तर अहिले वामदेव कमरेडले म संविधान संशोधन नभई राष्ट्रियसभामा जाँदैजान्न चाहिँ भन्न मिलेन । हामीले भनेपछि आग्रह स्वीकार गर्नुपर्‍यो ।

लगत्तै माधवकुमार नेपालले भने – वामदेव कमरेडले अहिलेको परिस्थिति र बाहिरको माहौल बुझिहाल्नु भएको छ । अब तपाईंले शर्त राख्न भएन । तपाईं राष्ट्रिय सभामा जानुपर्‍यो । पार्टीभित्र यो विषयमा अब धेरै विवाद र छलफल गर्दा झन् नराम्रो सन्देश जान्छ । कार्यदलको विषयमा विरोध भयो । यसलाई भंग गरेर अगाडि बढौं । भविष्यका कुरा अहिले धेरै नगरौं ।

यसपछि पालो थियो वामदेवको । उनले भने – मैले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संसोधन गर्नुस्, म जान्छु भनेकै हो । अहिले पनि मेरो भनाइ त्यहीँ हो । कार्यदलै बनाउन सकिएन भने अहिलेलाई ठिकै छ । म राष्ट्रियसभामा जान्छु । तर तपाईंहरू संविधान संसोधनका लागि सहमत हुनैपर्छ । मेरो अडान यथावत छ ।

त्यसपछि फेरि प्रचण्ड बोले – तपाईलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय अहिले गरौं । संविधान संशोधन गर्ने निर्णय अहिले गर्न सक्ने अवस्था छैन । कार्यदल भंग गरेपनि संविधान संसोधनको एजेण्डा जीवितै छ । उपयुक्त समय र सन्दर्भ मिल्दा संविधान संसोधन नहुने भन्ने होइन । तर अहिले नै तपाई र संविधान संसोधनको विषय जोड्दा जटिलता धेरै आउँछन् । यसमा तपाईंले कम्परमाइज गर्नुपर्‍यो । यसलाई शर्त नै भन्नु भएन ।

गौतमले भने – पार्टीको निर्णय मान्छु ।

ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ बोले – वामदेव कमरेडलाई राष्ट्रियसभा लैजाने र संविधान संशोधन गर्ने विषय एकै पटक उठाउँदा पार्टीलाई प्रत्युत्पादक भएको छ ।

यसअघि शनिवारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको प्रस्ताव थियो – संविधान संशोधन गर्ने हो भने पनि ठीक छ । अहिले राष्ट्रिय सभाका तीन जना मात्रै सदस्य राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ । अब हामीले संख्या बढाएर ९ जना पुर्‍याउँदा ठीक हुन्छ । त्यसले पार्टीको आवश्यकताअनुसार साथीहरूलाई भूमिका वितरण गर्न पनि सजिलो हुन्छ ।

तर उनको यो प्रस्तावमा ईश्वर पोखरेल बाहेकका सदस्यहरूले समर्थन गरेनन् । तर बुधबारको बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेपछि ओली तत्कालै असन्तुष्ट बने ।

असन्तुष्ट ओलीले भने – पहिला राष्ट्रियसभामा जानुस् भन्दा वामदेव कमरेडले संविधान संशोधन गरे मात्रै जान्छु भन्नु भयो । अड्डी कस्नुभयो । त्यसैले संविधान संसोधनका लागि कार्यदल बनायौं । फेरि आज आएर कार्यदल विघटन गरौं, भंग गरौं भनेर प्रस्ताव ल्याउनुभयो । संविधान संसोधन नभए पनि म राष्ट्रियसभा जान्छु भन्न थाल्नुभयो । यो के चाल हो ? मलाई थाहा छ, तपाईंहरूले मलाई घेराबन्दी गर्ने खेल रच्नु भएको हो । कहिले कहाँ ? कहिले कहाँ बसेर ममाथि प्रहार गर्ने योजना बनेका छन् । तर म सबै प्रहारको सामना गर्छु । म तयार छु । जस्तोसुकै परिस्थिति आए पनि मेरो विरुद्धको लडाईंमा म पछाडि हट्दिनँ । ल ठीक छ, वामदेव कमरेडलाई राष्ट्रियसभा पठाउँ ।

गौतमको जवाफ थियो – पार्टीमा मैले कोहीभन्दा कम काम गरेको छैन । मेरो योगदान कसैको भन्दा कम छैन । तपाईंहरूले दिएका हरेक जिम्मेवारी पूरा गरेको छु । लगातार काम गरेको छु । तर पनि मेरो विरुद्ध किन षड्यन्त्र हुन्छ ? मेरै विरुद्ध किन लागिन्छ । तपाईंहरूलाई म मन परेको छैन, मैले काम गरेको छैन भन्ने लागेको छ भने हटाउनुस् । मलाई पार्टीबाट निकाल्नुस् । तर थरिथरिका भूमिका नखेल्नुस् । मलाई दोहोरो भूमिका मन पर्दैन । म पनि त्यस्तो स्वभावको छैन ।

त्यसपछि विष्णु पौडेलको भनाइ थियो – युवराज (खतिवडा) जीलाई अहिले राष्ट्रिय सभामा नलगेपनि केही फरक पर्दैन, वामदेव कमरेडलाई पठाऔं । उहाँले संविधान संशोधनको सर्त नराखेपछि राष्ट्रिय सभामा लाने कुरामा समस्या भएन ।

टकरावको पृष्ठभूमि

४ फागुन, झापा – ‘तपाईंहरूलाई लाग्ला, बहुमत छ । बहुमत भए पनि फर्की–फर्कीकन फेरि उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन् । ‘म भन्न चाहन्छु – अरू कसैैले हैन, कुनै शक्तिले हैन, हामीलाई सरकारमा पुर्‍याइदिएको, हाम्रो सरकार बनाइदिएको तपाईंहरूले हो । जबसम्म तपाईंहरूको आशीर्वाद रहन्छ, साथ शुभेच्छा र शुभकामना रहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन । डगमगाउन पनि सक्दैन । हामी अगाडि बढ्यौं, बढ्यौं ।’

‘१४ वर्ष जेल जीवन बिताउनुपर्‍यो, ६ वर्ष भूमिगत बस्नुपर्‍यो । २० वर्ष त पञ्चायतविरुद्ध संघर्ष गर्नुपर्‍यो । त्यसको १८ वर्षपछिसम्म राजतन्त्रविरुद्ध संघर्ष गर्नुपर्‍यो । त्यसपछि पनि अनेक जालझेलविरुद्ध संघर्ष गरिरहनुपरेको छ । मेरो जिन्दगी रोगसँग लडेर, प्रतिक्रियावादीसँग लडेर, जनविरोधी शक्तिसँग लडेर यतिकै बितेको छ । त्यसकारण म सधैं लडाइँको मैदानमा खडा छु । ४६ वर्ष भयो रोगसँग लडेको । विरोधीहरू मुकाबिला गर्न सक्दैनन् । मर्ला कि भनेर आश गर्छन् । मर्न त मर्छु एक दिन, तर अहिले हैन, अलिक पछि ।

१२ फागुन, पोखरा – ‘हाम्रो प्रतिपक्षी कमजोर भयो भनेर कसैकसैले भन्ने गरेको सुनेको छु,’ व्यंग्य गर्दै प्रधानमन्त्रीले भने, ‘प्रतिपक्षी चर्का छन् । संसद्मा एजेन्डा नै नपाएर बोल्दैनन् । अनि, माइतीघर मण्डलामा गएर प्रतिपक्षीय धर्म पूरा गर्छन् । जे भयो त्यहाँ पुगिहाल्छन्, अफबाह फैलाउँछन् । अनेक हर्कत गर्छन् । अनि, अर्काथरि मान्छे त्यसैलाई पत्याउँछन् । एउटा कुखुराको चल्लोले फट्यांग्रा भेटाएपछि लिएर दगुर्छ । अनि, अरू चल्ला त्यसैको पछिपछि के–के न होला भनेर दगुर्छन् । हाम्रो प्रतिपक्षी पनि त्यस्तै छ । कसैले केही कुरा बताइदिन्छ । सत्य के हो ? बुझ्नुछैन, त्यसै हो, हो भन्यो । अनावश्यक हल्ला चलायो । सरकारविरुद्ध अफवाह फैलायो ।

‘प्रतिक्रियावादीहरूले अनेक प्रकारका पासो थाप्छन् । अपमान गर्नुपर्छ भनेर संयन्त्र प्रयोग गर्छन् । भयानक प्रचार छेड्छन् र आक्रमण गर्छन् । खेल्ने काम मात्र हुन्छ, फाटो बढाउन खोज्छन, हाम्रै साथीहरूमा पनि कसैको महत्त्वकांक्षा बढाएर, त्यसलाई प्रयोग गरेर समस्या खडा गर्न खोज्छन् । आन्दोलनलाई बदनाम गर्ने, कमजोर गर्ने र अन्तिममा नष्ट गर्न चाहन्छन् । हामी यसमा सचेत हुनुपर्छ, यसलाई बुझ्नुपर्छ ।’

१४ फागुन, बालुवाटार – त्यसपछि प्रधानमन्त्री ओलीको थप प्रतिक्रिया थियो, ‘पहिला राष्ट्रियसभामा जानुस् भन्दा संविधान संशोधन गरेमात्रै जान्छु भन्नु भयो । अड्डी कस्नुभयो । संविधान संशोधनका लागि कार्यदल बनायौं । फेरि आज आएर विघटन गरौं, भंग गरौं भनेर प्रस्ताव ल्याउनुभयो । फेरि होइन म राष्ट्रियसभा जान्छु भन्ने ? यो चाल हो । तपाईंहरूले मलाई घेराबन्दी गर्ने खेल रच्नुभएको हो । यी गतिविधि मेराविरुद्ध होइनन् भनेर कसरी विश्वास गर्ने ? कहिले कहाँ कहिले कहाँ बसेर ममाथि प्रहार गर्ने योजना बनेका छन् । तर म सबै प्रहारको सामना गर्छु । म तयार छु । जस्तोसुकै परिस्थिति आएपनि मेरो विरुद्धको लडाइँमा म पछाडि हट्दिनँ । ल ठीक छ, वामदेव कमरेडलाई राष्ट्रियसभा पठाउँ ।’

ओलीले दबाब महसूस गरेका घटना

अधिकार बाँडफाँड

४ मंसिरमा नेकपाको सचिवालय बैठकले दुई अध्यक्ष ओली र प्रचण्डको कार्यविभाजन गर्‍यो । ओली पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री बन्ने र प्रचण्डले पार्टीमा कार्यकारी अध्यक्षको भूमिका निभाउने निर्णय थियो । सचिवालयका बहुमत सदस्यको चाहनामा प्रचण्डलाई कार्यकारी भूमिका दिनु परेकोमा ओली असन्तुष्ट छन् ।

एमसीसी कार्यदल प्रतिवेदन

बीस दिनको अध्ययनपछि नेकपाको उच्चस्तरीय कार्यदलले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा संसदबाट अनुमोदन गर्न नहुने निष्कर्ष निकाल्यो । ९ फागुनमा कार्यदलले प्रतिवेदन दुवै अध्यक्षलाई बुझायो । संसदबाट छिटो एमसीसी अनुमोदन होस् भन्ने आफ्नो चाहनामा अवरोध भएपछि ओली सचिवालयका नेताहरूसँग रुष्ट बने । ओलीको चाहना विपरीत केन्द्रीय कमिटीबाट झलनाथ खनाल नेतृत्वको कार्यदल बनेको थियो ।

बाँस्कोटा ‘कमिसन’ प्रकरण

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ८ फागुनमा राजीनामा दिए । बाँस्कोटा ओलीका विश्वास पात्र थिए । विवादलगत्तै सचिवालयका सदस्यले बाँस्कोटाको राजीनामा माग्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । यो ओलीमाथि दबाबपूर्ण कदम बन्यो ।

सभामुखमा पूर्व माओवादी

लामो समयसम्म सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान लिएका ओली अन्तिम समयमा पछाडि हटे । त्यसैका आधारमा अग्नि सापकोटा सभामुख बनाउने नेकपाको सचिवालयको निर्णय आयो । प्रचण्डले प्रस्ताव गरेको व्यक्ति सभामुख हुने सचिवालयका बहुमत सदस्यको धारणापछि ओली पछाडि हटेका थिए । यसले पनि ओलीले आफूमाथि घेराबन्दी भएको महसूस गरे ।

भैंसैपाटी बैठकमा बहुमत सदस्य

नेता वामदेव गौतम निवास भैंसैपाटीमा सचिवालयका बहुमत सदस्यको बैठक बस्यो । बैठकमार्फत नेताहरूले एकलौटी निर्णय नगर्न ओलीलाई सन्देश दिए । बैठकमा प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए । बैठकको निष्कर्ष थियो – सभामुख पूर्व माओवादीलाई दिने । ओली र दाहालबीच सभामुखको पद प्रतिष्ठाको विषय बनिरहेका बेला केपी ओली आफ्नो कदमबाट पछाडि हटेका थिए ।