राष्ट्रियसभा निर्वाचन माघ १५ भित्रै, यस्तो छ तयारी

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, मंसिर १३, २०७६

नेपाटप

काठमाडौं – राष्ट्रिय सभाका एकतिहाइ सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन संसद् सचिवालयले निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

फागुन २० गतेदेखि १९ सदस्यको पद रिक्त हुने भएपछि सचिवालयले आयोगलाई पत्र पठाएर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।

नेपाल लाइफ

सदस्यहरूको पद रिक्त हुनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ५५ मा उल्लेख छ । यसअनुसार माघ १५ गतेभित्र निर्वाचन गरिसक्नुपर्छ ।

राष्ट्रिय सभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेकाले सोही मितिबाट पदावधि गणना हुन्छ । प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । सोही अनुसार एकतिहाइ सदस्यको पदावधि फागुन २० गते पूरा हुँदैछ । आजको नागरिक दैनिकमा समाचार छ ।

कूल ५९ जना सदस्य रहेको राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट ४२, नेपाली कांग्रेसबाट १३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबाट २–२ जना सदस्य छन् । राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ भन्ने संविधानको व्यवस्थाअनुसार उनीहरुको यसअघि नै गोलाप्रथाद्वारा कार्यकाल विभाजन गरिएको थियो ।

यसअनुसार प्रदेश १ मा कांग्रेस १ र नेकपा २ गरी तीन, प्रदेश २ मा कांग्रेस १, राजपा २ र समाजवादी १ गरी ४ पद खाली हुँदैछन् । प्रदेश ३ मा नेकपा १ कांग्रेस १ गरी २ जनाको पद खाली हुँदैछ ।

गण्डकी प्रदेशमा कांग्रेसका २ जना सदस्यको पद खाली हुँदैछ । प्रदेश ५ मा कांग्रेसबाट १ र नेकपाबाट २ जनाको पद खाली हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट कांग्रेसबाट १ र नेकपाबाट १ गरी २ जनाको खाली हुँदैछ । राष्ट्रपतिबाट मनोनीत एक जनाको पनि पद खाली हुँदैछ ।

संसद् सचिवालयले निर्वाचन आयोगलाई पत्र पठाएर राष्ट्रिय सभाका एकतिहाइ अर्थात् १९ सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा एक जना महिलासहित तीनजना रहने व्यवस्था छ । प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना राष्ट्रियसभा सदस्यमा निर्वा्चित हुने व्यवस्था छ ।

कुन समूहबाट कति रिक्त ?

राष्ट्रिय सभामा महिला कलस्टरबाट सात जना महिलाको पद खाली हुनेछ भने दलित कलस्टरबाट दुईजनाको खाली हुनेछ । यसैगरी अपाङ्ग र अल्पसंख्यकबाट दुई जनाको पदावधि सकिँदैछ । खुलातर्फ सात जना र मनोनित एक जना गरी कुल १९ जनाको पदावधि सकिँदैछ ।

प्रदेश १ मा खुलातर्फ १ जना, महिला कलस्टरबाट १ जना र दलित कलस्टरबाट एक जना गरी तीन जनाको निर्वाचन गर्नुपर्ने छ । प्रदेश २ बाट खुलातर्फ १ जना, महिला कलस्टरतर्फ १ जना, दलित कलस्टरमा १ जना, अपाङ्ग/अल्पसंख्यक कलस्टरमा १ गरी चारजनाको निर्वाचन हुनेछ । प्रदेश नं. ३ मा खुलामा १ जना र महिलातर्फ १ जना गरी २ जनाको निर्वाचन गर्नुपर्नेछ ।

गण्डकी प्रदेशमा खुलातर्फ १ र महिलातर्फ १ गरी २ जनाको निर्वाचन गर्नुपर्नेछ । प्रदेश ५ बाट खुला १, महिला १ र अपांगरअल्पसंख्यक १ गरी तीनजनाको निर्वाचन गर्नुपर्नेछ । सुदूरपश्चिम प्रदेशबाट खुला १, महिला १ गरी २ जनाको निर्वाचन गर्नुपर्नेछ । मनोनितबाट १ जनाको निर्वाचन गर्नुपर्नेछ ।

यी हुन् पदावधि सकिने सदस्य

महिला कलस्टरबाट प्रदेश १ मा कांग्रेसबाट सरिता प्रसाईं, प्रदेश २ मा कांग्रेसबाट मुक्ताकुमारी यादव, प्रदेश ३ मा कांग्रेसबाट धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट कांग्रेसकी विन्दादेवी आले राना, प्रदेश ५ मा नेकपाबाट मीना बुढा, कर्णाली प्रदेशमा नेकपाबाट युटोल तामाङ, सुदूरपश्चिम प्रदेशमा नेकपाबाट कमलाकुमारी वलीको पदावधि सकिँदैछ । दलित कलस्टरमा प्रदेश १ मा नेकपाका खेमराज नेपाली, प्रदेश २ मा समाजवादी पार्टीका रामप्रित पासवानको पदावधि सकिँदैछ ।

अपांग वा अल्पसंख्यक कोटाबाट प्रदेश ५ मा नेकपाका राजकुमार कुँवर र प्रदेश २ राजपाका वृषेशचन्द्र लालको पदावधि सकिँदैछ ।

खुला कलस्टरतर्फ प्रदेश १ मा नेकपाका हरिचरन सिवाकोटी, प्रदेश २ मा राजपाका रमेशप्रसाद यादव, प्रदेश ३ मा नेकपाका बलरामप्रसाद बाँस्कोटा, गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे, प्रदेश ५ मा कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशमा नेकपाका कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे पनि पदमुक्त हुँदैछन् । राष्ट्रपतिबाट मनोनित युवराज खतिवडाको कार्यकाल पनि सकिँदैछ ।